काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।
महाशाखाले आज दिउँसो देशभर सामान्यतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा तथा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले चट्याङ र वर्षाबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।




