भैरहवा । रुपन्देहीको भैरहवास्थित भाटभटेनी सुपरस्टोर परिसरमा अत्याधुनिक सुविधासम्पन्न आईएनआई सिनेमाज् सञ्चालनमा आएको छ। लोत्से इन्टरटेनमेन्ट प्रालिको व्यवस्थापनमा सञ्चालनमा आएको यो बहुपर्दा चलचित्रगृहसँगै आईएनआई सिनेमाज् चेनअन्तर्गत देशभर सञ्चालनमा रहेका सिनेमा हलको संख्या सात पुगेको छ।
सोमबार आयोजित विशेष समारोहका बीच मल्टिप्लेक्सको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख तथा पूर्व संविधानसभा सदस्य इस्तियाक अहमद खाँ ले भैरहवामा मनोरञ्जन क्षेत्रको नयाँ लगानी भित्रिनु सकारात्मक उपलब्धि भएको बताए। उनले सीमावर्ती शहर भैरहवामा यस्ता पूर्वाधारले पर्यटन र स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भाटभटेनी समूहका संस्थापक मिन बहादुर गुरुङ को परिकल्पना तथा ग्राण्डी इन्टरनेशनल अस्पताल र ग्राण्डी डेभलपर्सका अध्यक्ष दिपक कुँवर र उनका छोरा युवा उद्यमी आभाष कुँवर को सहकार्यमा यो परियोजना साकार भएको हो। बेलायतको रिजेन्ट्स विश्वविद्यालयबाट व्यवसाय तथा व्यवस्थापन विषयमा स्नातक गरेका आभाष कुँवरले हाल आईएनआई सिनेमाज्को नेतृत्व गरिरहेका छन्।
भाटभटेनी भैरहवामा सञ्चालनमा आएको चलचित्रगृहमा दुईवटा प्रदर्शन कक्ष रहेका छन्, जहाँ एकैपटक ३९६ दर्शकले चलचित्र अवलोकन गर्न सक्ने क्षमता छ। चलचित्र प्रदर्शनलाई उच्चस्तरीय बनाउन बेल्जियममा निर्मित अत्याधुनिक लेजर प्रोजेक्टर जडान गरिएको छ भने दर्शकको सहजताका लागि आरामदायी सिटहरू राखिएका छन्।
यस चलचित्रगृहको मुख्य आकर्षण भनेको १६ च्यानल डिटिएस–एक्स इमर्सिभ ध्वनि प्रविधिमा आधारित ‘पल्ज’ ध्वनि प्रणाली हो। नेपालमा पहिलो पटक आईएनआई सिनेमाज्ले भित्र्याएको यो प्रविधि यसअघि बानेश्वर र देवचुलीस्थित शाखामा मात्र प्रयोग हुँदै आएको थियो। अब भैरहवाका दर्शकले पनि विश्वस्तरीय ध्वनि अनुभवसहित चलचित्र हेर्ने अवसर पाउने भएका छन्।
चलचित्रगृहभित्र ५० भन्दा बढी प्रकारका खानपानका परिकार तथा पेय पदार्थ उपलब्ध गराइएको छ। साथै दर्शक सुरक्षालाई प्राथमिकतामा राख्दै ध्वनि नियन्त्रणका लागि बनाइएका भित्ताहरू, भुइँमा बिछ्याइने गलैँचा तथा सिटहरूमा आगो प्रतिरोधी सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ। आपतकालीन अवस्थाका लागि छुट्टै आपतकालीन बाहिरिने मार्गको व्यवस्था समेत गरिएको छ।
भैरहवामा नयाँ शाखा सञ्चालनमा आएपछि आईएनआई सिनेमाज्को देशभर कुल पर्दा संख्या १३ पुगेको छ भने सिट क्षमता २ हजार ५ सय ५४ पुगेको छ। यसअघि काठमाडौंको लोत्से मल, बानेश्वरस्थित एनबी सेन्टर, जमलको विश्वज्योति मल, बुटवल सिटी सेन्टर, सिमरा तथा देवचुलीमा यसका शाखा सञ्चालनमा छन्।
दर्शकहरूले चलचित्रको टिकट कम्पनीको आधिकारिक वेबसाइट, ईसेवा, खल्ती तथा चलचित्रगृहको टिकट काउन्टरमार्फत डिजिटल वा नगद भुक्तानी गरेर खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।




