कोशीदेखि गण्डकीसम्म वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

by समतल अनलाइन
51Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली र बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। गण्डकी प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने विभागले जनाएको छ। मधेश प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

You may also like