इन्टलेक्च्युअल एकेडेमीमा ‘हामी बस्ने शहरको कथा’ सुरु: इतिहासको ऐनामा बुटवल

by समतल अनलाइन
64Shares

बुटवल । हामी जुन शहरमा जन्मिएका छौँ, हुर्किएका छौँ-त्यही शहरको इतिहास र सांस्कृतिक जराबारे हामीलाई कति थाहा छ? यही गम्भीर प्रश्नलाई केन्द्रमा राखेर इन्टलेक्च्युअल एकेडेमीले “हामी बस्ने शहरको कथा” शैक्षिक कार्यक्रम सुरु गरेको छ। यसै सिलसिलामा बुधवार कार्यक्रमको पहिलो शृङ्खला सम्पन्न भएको हो ।

इतिहासका पाना पल्टाउँदै देवेन्द्रराज शाक्य

बुटवलको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक बनावटमा केन्द्रित पहिलो शृङ्खलामा अध्येता तथा बरिस्ठ साहित्यकार देवेन्द्रराज शाक्यले आफ्नो विद्वतापूर्ण प्रस्तुति राख्नुभयो। उहाँले जितगढी युद्धको ऐतिहासिक महत्त्वदेखि लिएर बुटवलको पुरानो व्यापारिक परम्परा र सामाजिक संरचनाबारे जीवन्त चर्चा गर्नुभयो। नुन, कपडा, अन्न र जडीबुटीको व्यापारिक केन्द्रको रूपमा बुटवलले खेल्दै आएको भूमिका र यहाँको नामाकरणका रोचक प्रसङ्गहरू सुनाउँदा कक्षाकोठामा उपस्थित विद्यार्थीहरू मन्त्रमुग्ध भएका थिए।

शाक्यले नयाँ पुस्तालाई आफ्नो शहरको इतिहास पढ्न, बुझ्न र संरक्षण गर्न आग्रह गर्दै भन्नुभयो- “इतिहास केवल बितेको समयको फेहरिस्त मात्र होइन, यो त उज्ज्वल भविष्य निर्माणको आधारशिला पनि हो।”

​आधुनिक शिक्षण पद्धतिको अभ्यास

इन्टलेक्च्युअल एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोख्रेलका अनुसार यो कार्यक्रम स्थान- आधारित शिक्षण (Place-Based Learning) र कथा-केन्द्रित अध्यापन (Story-Centered Pedagogy) को एउटा नमूना अभ्यास हो। पाठ्यपुस्तकले दिन नसकेको तर जीवनका लागि अपरिहार्य स्थानीय ज्ञानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको परिकल्पना गरिएको पोख्रेलले प्रस्ट पार्नुभयो।

​​विद्यार्थीको अनुभूति र बुटवलप्रतिको गौरव

शिक्षक सुभास भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई विद्यार्थीहरूले “बुटवललाई नयाँ आँखाले चिन्ने” अवसरका रूपमा वर्णन गरेका छन्। कक्षा ९ मा अध्ययनरत विद्यार्थी रोनित ज्ञवालीले बुटवलमा यति धेरै इतिहास छ भन्ने थाहै नभएको बताउँदै यो कार्यक्रमपछि आफ्नो शहरप्रति अझ बढी माया र सम्मान जाग्न थालेको अनुभव सुनाए। त्यस्तै, कक्षा १० की छात्रा श्रेया गैरेले जितगढी युद्धको वीरगाथाले आफूलाई सबैभन्दा बढी छोएको बताउँदै आफ्नै माटोको गौरवपूर्ण कथा सुन्न पाउनु निकै रोचक र प्रभावकारी रहेको उल्लेख गरिन्।

​आगामी शृङ्खलाको तयारी

विद्यालय प्रशासनका अनुसार कार्यक्रमको आगामी शृङ्खला झनै रोचक हुनेछ। अर्को अङ्कमा “बुटवल: पश्चिम नेपालको व्यापारिक केन्द्र किन र कसरी?” तथा “बाजेको पालादेखि जेन-जेड (Gen-Z) सम्मको समृद्धि” को कथा प्रस्तुत गरिने तयारी छ।

You may also like