बुटवल।बुटवल–१०, रुपन्देहीस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयएसईई परीक्षा २०८२ मा प्राविधिक धार तर्फ नेपाल प्रथम भएको छ ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार प्राविधिकधार तर्फ सहभागी ४७ जना विद्यार्थी सबैजना उत्तीर्ण भएका हुन सत प्रतिशत नतिजा प्राविधिक धारतर्फ को नतिजा अनुसार नेपाल प्रथम भएको हो ।
विद्यालयमा कम्प्युटर ईन्जिनियरिङ तर्फ यस वर्ष एसईइ परीक्षामा सहभागी कुल ४७ जना विद्यार्थीमध्ये सबै विद्यार्थी उत्तीर्ण भएका छन । जसमा २ जना विद्यार्थीले ४.० जिपिए ल्याएका छन् भने २७ जनाले ३.६ देखि ३.९८ जिपिएहासिल गरेका छन्। त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ जिपिए प्राप्त गरेका छन् भने ३ जनाले २.८ देखि ३.१९ जिपिए ल्याएका छन्।
प्राविधिक शिक्षातर्फ नेपाल प्रथम बनेको विद्यालय साधारणतर्फ पनि सामुदायिक विद्यालयमा नेपाल दोस्रो र लुम्बिनी प्रदेश स्थान हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।
विद्यालय प्रशासनले यस उपलब्धिलाई विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगको परिणाम भएको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार यो सफलता हाम्रो सम्पूर्ण कालिका परिवारको सामूहिक प्रयासको फल हो। आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने लक्ष्यका साथ हामी अगाडि बढ्ने थप हौसला प्रदान गरेको छ । उपलब्धिले विद्यालयलाई मात्र नभई सम्पूर्ण रुपन्देही जिल्ला र लुम्बिनी प्रदेशलाई समेत गर्व गर्ने अवसर प्रदान गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए।
स्थानीय तहका जनप्रतिनिधि, शिक्षाप्रेमी तथा सरोकारवालाहरूले विद्यालयको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्ने विश्वास व्यक्त गरेका छन्।
यसरी कालिका मानवज्ञान माविले प्राविधिक र साधारण दुवै धारामा उत्कृष्ट नतिजा ल्याउँदै नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा आफ्नो पहिचान अझ मजबुत बनाएको छ।



