रुपन्देहीमा बढ्दो होटल लगानी, पर्यटनको नयाँ केन्द्र बन्दै भैरहवा–लुम्बिनी क्षेत्र

by समतल अनलाइन
55Shares

होटल तथा पर्यटन पूर्वाधारमा तीव्र लगानी भित्रिन थालेसँगै रुपन्देही जिल्लामा पर्यटन र आतिथ्य क्षेत्रको प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। विशेषगरी लुम्बिनी भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटकको मुख्य बसाइस्थलका रूपमा जिल्लाको पहिचान बलियो बन्दै गएको व्यवसायीहरू बताउँछन्।

भैरहवा–लुम्बिनी करिडोर, बुटवल तथा जिल्लाका मुख्य सहरी क्षेत्रमा पछिल्ला वर्षहरूमा तारे होटलको विस्तार उल्लेख्य रूपमा बढेको छ। अहिले जिल्लामा पाँचतारे, चारतारे र तीनतारे होटल सञ्चालनमा छन् भने थप नयाँ परियोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन्।

पर्यटन व्यवसायीका अनुसार लुम्बिनी आउने पर्यटक मात्रै होइन, काठमाडौं, पोखरा, चितवन तथा बर्दियातर्फ यात्रा गर्ने आन्तरिक तथा भारतीय पर्यटकसमेत भैरहवा हुँदै आवतजावत गर्ने भएकाले रुपन्देहीमा पर्यटकको बसाइ अवधि क्रमशः बढ्दै गएको छ।

सिद्धार्थ होटल सङ्घका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले रुपन्देहीमा पाँचतारे होटलको सङ्ख्या उल्लेख्य रहेको बताउँदै अन्तरराष्ट्रिय स्तरका नयाँ परियोजनाले जिल्लाको पर्यटन सम्भावना अझै विस्तार गरेको बताए। उनका अनुसार सञ्चालनमा रहेका ठूला होटलसँगै थप लगानी आकर्षित भइरहेको छ।

हाल जिल्लामा हायात प्यालेस, टाइगर प्यालेस बाइ सोल्टी, भिलासा तथा लुम्बिनी हेरिटेज सञ्चालनमा रहेका छन्। साथै भैरहवा–लुम्बिनी सडकखण्डमा नयाँ पाँचतारे होटल निर्माण भइरहेको छ भने भैरहवाको बुद्धचोक क्षेत्रमा अर्को सुविधा सम्पन्न होटल अन्तिम चरणमा पुगेको जनाइएको छ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष राजेश महोत्राले भारतीय पर्यटकलाई लक्षित गर्दै होटल क्षेत्रमा ठूलो लगानी भइरहेको बताए। सीमावर्ती भारतीय बजारबाट आउने पर्यटकको सङ्ख्या उच्च रहेकाले रुपन्देहीलाई विश्रामस्थल मात्र नभई दीर्घ बसाइको गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

पर्यटन व्यवसायी किशोर जोशीका अनुसार जिल्लामा पर्यटकको बसाइ अवधि बढाउन सांस्कृतिक कार्यक्रम, मनोरञ्जन गतिविधि तथा आकर्षक पर्यटन प्याकेज आवश्यक छन्। उनले लुम्बिनी भ्रमणपछि अधिकांश पर्यटक सोही दिन फर्किने प्रवृत्ति रहेकाले बसाइ लम्ब्याउन सकिए स्थानीय अर्थतन्त्रमा थप सकारात्मक प्रभाव पर्ने बताए।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्गठनका पूर्वअध्यक्ष अनिल ज्ञवालीले अन्तरराष्ट्रिय होटल व्यवस्थापन समूहहरूको चासो बढ्दै जानुले रुपन्देहीको पर्यटन छवि थप सुदृढ बनेको बताए। उनका अनुसार हायात, मेरियट, होलिडे इन र क्राउन प्लाजा जस्ता अन्तरराष्ट्रिय ब्रान्डको उपस्थितिले लगानीकर्तामा उत्साह थपेको छ।

गौतम बुद्द्व अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटल, रिसोर्ट र क्यासिनो क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढेको छ। सरोकारवालाका अनुसार भैरहवा र बुटवल क्षेत्र अब केवल व्यापारिक केन्द्रमा सीमित नरही प्रदेशकै प्रमुख पर्यटन तथा आतिथ्य केन्द्रका रूपमा उदाउँदै गएका छन्।

You may also like