दुईदिने बिदासँगै विद्यालय सञ्चालन मोडालिटी परिवर्तन, शुक्रबार परियोजना कार्यमा जोड

by समतल अनलाइन
67Shares

काठमाडौं । सरकारले शैक्षिक सत्र २०८३ देखि विद्यालय सञ्चालनको मोडालिटीमा परिवर्तन गरेको छ । शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयसँगै विद्यालयको शैक्षिक क्यालेन्डर तथा पठनपाठन व्यवस्थापनमा समेत हेरफेर गरिएको हो ।

नेपाल सरकारको नयाँ व्यवस्थाअनुसार अब विद्यालयहरू सोमबारदेखि शुक्रबारसम्म पूर्ण समय सञ्चालन गर्नुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक व्यवस्थापन लागू गर्न पत्राचार गरेको जनाएको छ ।
केन्द्रको निर्देशनअनुसार प्रत्येक दिन विद्यालयमा १५ मिनेट प्रार्थना समय छुट्याउनुपर्नेछ भने ३० मिनेट खाजा समय निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि ४५ दिन कायम रहेको हिउँदे तथा वर्षे बिदालाई घटाएर ३० दिनमा सीमित गर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, पहिलो र दोस्रो त्रैमासिकको आन्तरिक मूल्यांकन नियमित पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि भने शैक्षिक सत्रको अन्तिम १२ दिन मात्र उपयोग गर्न सकिने व्यवस्था गर्न सुझाव दिइएको छ ।

सरकारले शुक्रबारलाई परियोजना तथा प्रयोगात्मक कार्यका लागि विशेष दिनका रूपमा प्रयोग गर्न विद्यालयहरूलाई आग्रह गरेको छ । स्वीकृत पाठ्यक्रममा आधारित परियोजना कार्य, प्रस्तुति तथा प्रयोगात्मक अभ्यासमार्फत विद्यार्थीको सिर्जनशीलता र व्यवहारिक ज्ञान विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

You may also like