राष्ट्रिय परीक्षा बोर्ड ले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा गत वर्षको तुलनामा करिब ४.१७ प्रतिशतले सुधार आएको छ। यस वर्ष कुल ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने गत वर्ष यो संख्या ६१.८१ प्रतिशत रहेको थियो।
शिक्षा सचिव चूडामणि पौडेल का अनुसार यसपटक एसईईको नतिजा उल्लेखनीय रूपमा सुधार भएको हो। यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन्। गत वर्ष भने २ लाख ७१ हजार २ सय ९९ विद्यार्थी मात्र ग्रेडेड भएका थिए।
नतिजाअनुसार जीपीए ३.६० देखि ४.०० सम्म ल्याउने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको छ। त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ८० हजार ३७२ जना तथा जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन्।
यसैगरी, जीपीए २.४० देखि २.८० सम्म ल्याउने ५५ हजार ९७७ जना, जीपीए २.०० देखि २.४० सम्म ५ हजार १९० जना तथा जीपीए १.६० देखि २.०० सम्म ७ जना विद्यार्थी रहेका छन्।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेश बाट ग्रेडेड भएका छन्। बागमती प्रदेशबाट ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन्। त्यस्तै कोशी प्रदेश बाट ५० हजार ८९०, मधेश प्रदेश बाट ४४ हजार ५९२, गण्डकी प्रदेश बाट २६ हजार ५५० विद्यार्थी ग्रेडेड भएका छन्।
त्यसैगरी लुम्बिनी प्रदेश बाट ४४ हजार २५६, कर्णाली प्रदेश बाट १९ हजार ९५ तथा सुदूरपश्चिम प्रदेश बाट १९ हजार ९५ विद्यार्थी ग्रेडेड भएका छन्।
नतिजाअनुसार सबैभन्दा बढी ननग्रेडेड विद्यार्थी मधेश प्रदेश मा रहेका छन्। मधेश प्रदेशबाट ३१ हजार ७२५ विद्यार्थी ननग्रेडेड भएका छन्। यस प्रदेशबाट कुल ७६ हजार ३१७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
त्यस्तै, कोशी प्रदेशमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ तथा सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन्।



