काठमाडौँ। चालु आर्थिक वर्षको ९ महिनामा १६ खर्ब ५९ अर्ब ४१ करोड रूपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। विप्रेषण आप्रवाह ३९ दशमलव एक प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेको थियो। विवरणअनुसार गत चैत महिनामा विप्रेषण आप्रवाह दुई खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ दशमलव ९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव पाँच प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब तीन अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ९४ हजार १८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार २५९ रहेको छ।
शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा
चालु आर्थिक वर्षको ९ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज चालु आवको ९ महिनाको विवरण सार्वजनिक गरेको थियो। सो विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा छ।
समीक्षा अवधिमा चालु खाता छ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २२ अर्ब ६७ करोड रुपैयाँ बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब ३२ करोडले बचतमा रहेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात अर्ब ७१ करोड रुपैयाँ रहेको थियो।
यसै गरी समीक्षा अवधिमा १४ अर्ब ५५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।
केन्द्रीय बैंकका अनुसार, गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३० दशमलव पाँच प्रतिशतले वृद्धि भई गत चैत मसान्तमा ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा गत चैत मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा गत चैत मसान्तमा २७ दशमलव सात प्रतिशतले वृद्धि भई ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा गत चैत मसान्तमा ५६ दशमलव आठ प्रतिशतले वद्धि भई चार खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ।
चालु आवको नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ दशमलव आठ महिनाको वस्तु आयात र १८ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।



