बैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने तयारी

by समतल अनलाइन
69Shares

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशन गर्न सरकारले दिएको निर्देशनअनुसार अहिले अन्तिम चरणको काम भइरहेको परीक्षा नियन्त्रक टुकराज अधिकारी ले जानकारी दिएका छन् ।

उनका अनुसार हाल ३० देखि ३५ जना कर्मचारी खटिएर टेबुलेसनको काम गरिरहेका छन् । सरकारले तोकेको समयसीमाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

यस वर्षको एसइई परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गरिएको थियो ।

हरेक दिन परीक्षा सकिएसँगै उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा प्राप्ताङ्क जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमै विद्यार्थीको प्राप्ताङ्क परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने व्यवस्था मिलाइएको थियो ।

You may also like

This will close in 0 seconds