देवदहमा सार्वजनिक जग्गा खाली गर्न १५ दिने सूचना जारी

by समतल अनलाइन
108Shares

देवदह । देवदह नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट गत चैत्र २४ गते प्राप्त निर्देशनात्मक पत्र बमोजिम सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको नगर प्रमुख ध्रुव प्रसाद खरेलद्धारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

सूचनामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) बमोजिम सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरिएको छ ।

नगरपालिकाका अनुसार देवदह क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा, सडक, कुलो, ताल, पोखरी लगायतका स्थानहरूमा अनधिकृत रूपमा घर, भवन, टहरा, ट्रस तथा अन्य संरचना निर्माण गरी अतिक्रमण गरिएको पाइएको छ । ती सबै अतिक्रमित सार्वजनिक सम्पत्तिको संरक्षण गर्न आवश्यक भएकाले सूचना जारी गरिएको जनाइएको छ ।

प्रकाशित सूचना अनुसार, सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएका सम्बन्धित सबै पक्षलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ बैशाख २८ गतेभित्र त्यस्ता संरचना हटाई जग्गा खाली गर्न निर्देशन दिइएको छ ।

तोकिएको समयसीमाभित्र जग्गा खाली नगरेमा प्रचलित कानून बमोजिम नगरपालिकाले स्वयम् हटाउने र सो कार्यबाट उत्पन्न हुने सम्पूर्ण खर्च, क्षतिपूर्ति तथा अन्य जिम्मेवारी सम्बन्धित व्यक्तिबाट नै असुल उपर गरिने चेतावनी पनि दिइएको छ ।

You may also like