काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने भएको छ।
पार्टीले वैशाख महिनाभित्र सदस्यता नवीकरण तथा अद्यावधिक नगर्ने क्रियाशील सदस्यहरूको सदस्यता खारेज हुने व्यवस्था अघि सारेको छ।
नयाँ प्रणालीअनुसार अब क्रियाशील सदस्यले आफ्नै वडा कार्यसमितिमा अनिवार्य रूपमा उपस्थित भएर मात्र सदस्यता अद्यावधिक गर्नुपर्नेछ। पार्टीले परम्परागत कार्ड प्रणाली हटाउँदै डिजिटल ‘कांग्रेस आइडी’ जारी गर्ने तयारी गरेको हो।
पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार सदस्यले वडामा उपस्थित भएर फोटो खिचाउने, मोबाइल नम्बर उपलब्ध गराउने र ओटीपी प्रमाणीकरण प्रक्रिया पूरा गरेपछि मात्रै डिजिटल आइडी जारी हुनेछ।
वैशाख महिनालाई सम्पूर्ण सदस्यता अद्यावधिक अभियानको समय तोकिएको छ। यस अवधिमा नवीकरण नगर्ने सदस्यहरूको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था गरिएको छ।
यसैबीच, पार्टी सभापति गगन थापाका अनुसार नयाँ प्रणालीअनुसार वडामा पुगेर फारम भर्ने सदस्यहरूले मात्र आगामी महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। अद्यावधिक नगर्ने सदस्यहरू अभिलेखमा रहे पनि क्रियाशील सूचीबाट हटाइनेछन्।
नयाँ व्यवस्थाअनुसार वैशाखभित्र नवीकरण नगर्ने सदस्यहरू आगामी १५औँ महाधिवेशनमा मतदान अधिकारबाट स्वतः वञ्चित हुनेछन्। कांग्रेसले महाधिवेशन आगामी असोजमा गर्ने तयारी गरेको छ।



