मानव सेवा आश्रममा भोजन गराउँदै शाइनो सहकारीले मनायो १६ औँ स्थापना दिवस

by समतल अनलाइन
102Shares

बुटवल । बुटवल-११ देवीनगरमा रहेको शाइनो बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले बुटवल–८ सुख्खानगरस्थित मानव सेवा आश्रममा आश्रित ५५ जना बेसहारा तथा असहाय व्यक्तिलाई भोजन गराएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष भोजबहादुर केसीले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक सेवासँग जोडिएको बताउनुभयो । उहाँले समाजका असहाय नागरिकसँग खुसी बाँड्ने उद्देश्यले भोजन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो ।

“सहकारी संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भोजन सेवा प्रदान गर्नु हामी सबैका लागि आत्मसन्तुष्टिको विषय हो,” अध्यक्ष केसीले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल हस्पिटल प्रा.लि.का कार्यकारी विक्रम खड्काले सहकारीले गरेको सेवामूलक कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा मानवीय भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

“मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो । सहकारीले सामाजिक सेवासँग जोडेर उदाहरणीय कार्य गरेको छ,” उहाँले बताउनुभयो ।

कार्यक्रममा सहकारीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष यदुमणि पोखरेलले गर्नुभएको थियो ।

बुटवलको देवीनगरमा रहेको शाइनो सहकारीले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदानसमेत गर्दै आगामी दिनमा यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

You may also like