जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलीयामा पुग्दा सहरको कोलाहलभन्दा केही टाढा कुनै शान्त गाउँमा पुगेको अनुभूति हुन्छ । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एकतल्ले सानो घर छ । घरको अगाडि ग्रिल लगाइएको एउटा झ्याल छ । बाहिरबाट हेर्दा अत्यन्तै साधारण देखिने यही घर अहिले देशभर चर्चाको केन्द्र बनेको छ ।
यस घरकी सदस्य हुन् २५ वर्षीया रुबी कुमारी ठाकुर, जो हालै संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । रुबी यो पदमा पुगेसँगै मुजेलीयाको यो सानो घर अहिले देशभर चर्चामा आएको छ ।
रुबी जति सरल र सामान्य छिन्, उनको परिवारको जीवनशैली त्योभन्दा पनि बढी साधारण छ । अझ अचम्मको कुरा त के छ भने, देशको दोस्रो उच्च संसदीय पदमा पुगेकी छोरीको जिम्मेवारी र गरिमा कति ठूलो छ भन्ने कुरा उनका बुबा–आमा र भाइलाई अझै स्पष्ट रूपमा थाहा छैन । उनीहरूलाई यति मात्र थाहा छ—छोरीले देशकै एउटा ठूलो राजनीतिक जिम्मेवारी पाएकी छिन् ।
रुबीका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा थिए । छोरी सांसद बनेको खबर उनले उतै सुनेका थिए । नौ दिनअघि मात्रै दुई महिनाको बिदामा घर फर्किएका सोगारथ भावुक हुँदै भन्छन्,
“साउदीमा रहेका नेपालीहरूले बधाई दिँदा गर्वले छाती चौडा हुन्थ्यो । गरिबीका कारण विदेशिनु परेकाले छोरीसँग धेरै समय बिताउन पाइएन, तर आज उसले जनकपुरकै नाम राखेको देख्दा धेरै खुसी लागेको छ ।”
रुबीलाई यो उचाइसम्म पुर्याउन सबैभन्दा ठूलो योगदान उनकी आमा रेणु ठाकुरको रहेको परिवार बताउँछ । चार छोरी र दुई छोराकी आमा रेणु दिनभर ‘बटैया’ (अधियाँ) मा लिएको खेतमा पसिना बगाउँछिन् । छोरी उपसभामुख बनेको खबर सुन्दा अझै पनि उनलाई सपना जस्तै लाग्छ ।
रेणु पुराना दिन सम्झिँदै भन्छिन्,“रुबीलाई पढ्न असाध्यै रुचि थियो । छोरीले घरभन्दा टाढा सर्लाहीको बलरा गएर पढ्छु भन्दा मैले नाइँ भनिनँ । त्यसबेला आफन्तहरूले छोरीलाई धेरै पढाउनु हुँदैन, बाहिर पठाउनु हुँदैन भनेर सम्झाउँथे । आज तिनै आफन्तले फोन गरेर बधाई दिँदा गर्व लाग्छ ।”
अहिले पनि खेतको काममा व्यस्त रहने रेणुलाई ‘सांसद’ वा ‘उपसभामुख’ पदको औपचारिक अर्थ थाहा छैन । तर छोरीको सफलताले उनको मन गर्वले भरिएको छ ।
“रुबीले दिनमा एक–दुई पटक फोन गर्छे, सबै ठीक छ भन्छे । हामीलाई विश्वास छ, तर आमाको मन हो, चिन्ता त लागिहाल्छ,” उनी भावुक हुँदै भन्छिन् ।
जस्तापाताको छानो भएको घरको छतमा विस्कुन सुकाइरहेका रुबीका भाइ शनि कुमार ठाकुरले भर्खरै एसईई दिएका छन् । उनले पनि दिदी ठूलो पदमा पुगेको कुरा फेसबुकमार्फत थाहा पाएका रहेछन् । साथीभाइले बधाई दिँदा उनी दंग परेका छन् ।
दिदीको सफलताले शनिमा पनि पढेर ठूलो मान्छे बन्ने सपना पलाएको छ । उनी भन्छन्, “दिदीलाई देखेर मलाई पनि धेरै पढेर केही ठूलो गर्ने इच्छा जागेको छ ।”
रुबीको सफलताले अहिले जनकपुर मात्र होइन, सम्पूर्ण मधेश उत्साहित बनेको छ । सामाजिक सञ्जालमा धेरैले उनलाई ‘मधेशकी छोरी’ भन्दै बधाई र शुभकामना दिइरहेका छन् ।
सामान्य परिवार, सानो घर र अभावबीच हुर्किएकी एक युवती देशको नीति निर्माण हुने सर्वोच्च थलोको उच्च पदमा पुग्नु आफैंमा एउटा प्रेरणादायी कथा बनेको छ । मुजेलीयाको त्यो ४ धुर जमिनमा बनेको घरले आज देशलाई एउटा सशक्त सन्देश दिएको छ—सपना पूरा गर्न महल होइन, दृढ इच्छाशक्ति चाहिन्छ ।
अहिले सम्पूर्ण धनुषाबासीको एउटै चाहना छ—२५ वर्षीया यी युवा उपसभामुखको कार्यकाल सफल होस् र उनी देशभरका हजारौँ रुबीहरूका लागि प्रेरणाको स्रोत बन्न सकून् ।




