नेवा पुचको स्थापना दिवसमा क्यालेन्डर विमोचन, जिन्सी सहयोग र सम्मान कार्यक्रम

by समतल अनलाइन
69Shares

बुटवल । नेवा पुच (नेवा समाज विकास परिषद)को २७औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। तिलोत्तमा–४ स्थित शृङ्गेश्वर जेष्ठ नागरिक धामको सभाहलमा आयोजित कार्यक्रममा शुभकामना आदान–प्रदान, वार्षिक क्यालेन्डर विमोचन तथा जिन्सी सामग्री हस्तान्तरण गरिएको थियो।

सो अवसरमा परिषदले शृङ्गेश्वर जेष्ठ नागरिक धामलाई जिन्सी सामग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।
साथै संस्था स्थापना कालदेखि योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष काजिमान श्रेष्ठले संस्थाले समाज, संस्कृति र पहिचान संरक्षणमा खेलेको भूमिकालाई स्मरण गर्दै सबैमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि शुभकामना व्यक्त गरे। २०५६ साल चैत्र २७ गते स्थापना भई समाज कल्याण परिषदमा आवद्ध भएको संस्थाले २७ वर्ष पूरा गर्दा गर्वको अनुभूति भएको उनले बताए।

अध्यक्ष श्रेष्ठका अनुसार मोफसलमै स्थापना भएको भए पनि परिषदले नेवा समुदायको भाषा, संस्कृति, परम्परा र इतिहास संरक्षण मात्र नभई पुस्तान्तरणमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको छ। गाईजात्रामा सार्वजनिक बिदाको मागलाई निरन्तर उठाउँदै आएको परिषदकै पहलमा बुटवल उपमहानगरपालिकाले उक्त अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले जानकारी दिए। साथै नेपाल भाषामा नागरिक बडापत्र राख्ने कार्यमा पनि परिषदले महत्वपूर्ण योगदान दिएको उनको भनाइ छ।

You may also like

This will close in 0 seconds