रुपन्देहीका बजारमा एलपी ग्यास अभाव, उपभोक्ता हैरान

by समतल अनलाइन
95Shares

बुटवल। रुपन्देहीका बुटवल, भैरहवा लगायतका बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताहरूले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको बताइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्।

स्थानीय उपभोक्ताका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। धेरै स्थानमा ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन्। ग्यास पसलहरूमा सिलिण्डर लिन आउने उपभोक्ताको लामो लाइन देखिन थालेको छ।

बुटवलका स्थानीय प्रदीप ज्ञवालीले लामो समयसम्म पालो कुर्दा पनि ग्यास पाउन नसकेको बताए। नियमित रूपमा भान्सा चलाउनसमेत ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर बन्दै गएको उनको भनाइ छ।

यता ग्यास विक्रेताहरूले भने कम्पनीबाट पर्याप्त मात्रामा ग्यास उपलब्ध नभएकाले बजारमा अभाव देखिएको बताएका छन्। मागअनुसार आपूर्ति नहुँदा उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ।

तर भैरहवा भन्सार कार्यालयका अनुसार ग्यास आयात भने नियमित रूपमा भइरहेको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको बताए। उनका अनुसार दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी रहेको छ।

ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदीप पन्तका अनुसार पछिल्लो समय सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले भने केही घण्टामै सकिने गरेको उनले बताए।
यस्तै सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयाससमेत बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभावसमेत देखिएकाले सीमावर्ती क्षेत्रबाट नेपालका ग्यास सिलिण्डर भारततर्फ तस्करी हुने गरेको स्थानीय बासिन्दाहरूको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जानकारी दिए। उनका अनुसार सीमावर्ती क्षेत्रमा चेकजाँचलाई थप कडाइ गरिएको छ।

यसैबीच, इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको बताएको छ।

You may also like