बुटवल । बुटवलमा चैत १ गतेदेखि २५ गतेसम्म ‘बुटवल महामेला’ आयोजना हुने भएको छ । देवीनगरस्थित रंगशालामा सञ्चालन हुने मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
फर्वार्ड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ । साथै मेलामा जलपरी कपल डान्स, बुर्ज खलिफा शैलीको आकर्षण, लुम्बिनीको प्रतिमासहितको विशेष सचिवालय लगायतका विभिन्न आकर्षणहरू राखिने कम्पनीका अध्यक्ष गोविन्द भुषालले जानकारी दिए ।
आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मेलाको तयारी पूरा भएको जानकारी दिएको छ । मेलालाई थप आकर्षक बनाउन टिकटक प्रतियोगिता, डान्स प्रतियोगिता लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिने बताइएको छ ।
आयोजकका अनुसार मेला मनोरञ्जनसँगै व्यापारिक गतिविधि प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


