भारत टी–२० विश्वकप च्याम्पियन, न्यूजील्याण्डलाई ९६ रनले हरायो

by समतल अनलाइन
109Shares

काठमाडौँ । भारतले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा न्यूजील्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि आफ्नो नाममा पारेको हो।

भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजील्याण्ड १९ ओभरमै अलआउट हुँदै १५९ रनमा समेटियो।

न्यूजील्याण्डका लागि टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए। कप्तान मिचेल सान्टनरले ४३ रन जोड्दा ड्यारिल मिचेलले १७ रनको योगदान दिए। अन्य ब्याट्सम्यान भने भारतीय बलिङ आक्रमणका सामु टिक्न सकेनन्।

भारतका लागि जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। अक्षर पटेलले ३ विकेट लिँदा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल तयार पारेको थियो।

भारतका लागि सन्जु सामसनले सर्वाधिक ८९ रन बनाए। इशान किशनले ५४ रन जोड्दा अभिषेक शर्माले ५२ रनको योगदान दिए। त्यस्तै शिवम दुबे २६ रनमा अविजित रहे भने हार्दिक पाण्ड्याले १८ रन बनाए।

न्यूजील्याण्डका लागि जेम्स निशामले ३ विकेट लिए भने म्याट हेनरी र रचिन रविन्द्रले एक–एक विकेट लिए।

यससँगै भारतले तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको छ। यसअघि भारतले २००७ र २०२४ मा पनि यो उपाधि जितेको थियो।
न्यूजील्याण्ड भने दोस्रो पटक टी–२० विश्वकपको उपविजेतामा सीमित भएको छ। यसअघि २०२१ को फाइनलमा न्यूजील्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो।

You may also like