आज देशका धेरै पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

by समतल अनलाइन
90Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।
यस्तै, कोशी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ।
यस अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ।
गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

You may also like