रूपन्देही–३ र ४ मा समानुपातिकमा रास्वपालाई सर्वाधिक मत

by समतल अनलाइन
150Shares

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ र ४ मा समानुपातिकतर्फको मतगणना पनि सकिएको छ । सार्वजनिक मतपरिणाम अनुसार दुबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मत पाएको छ । क्षेत्र नम्बर ३ मा रास्वपाकाले समानुपातिकतर्फ ५८ हजार ३ सय २५ मत प्राप्त गरेको छ । जुन क्षेत्रमा खसेको कुल सदर मतको करिब ६० प्रतिशत हो ।

यस्तै, काँग्रेसले ८ हजार १ सय ८६, एमालेले ७ हजार ६८९, नेकपाले २ हजार २७७, राप्रपाले ८ हजार ११८ र जनमत पार्टीले १ हजार २४१ मत प्राप्त गरेको छ । समानुपातिकमा ५७ दलले मत पाउँदा ४० बढी दलले एक सय मत पनि पाएका छैनन् । क्षेत्र नम्बर ३ मा समानुपातिकतर्फ ९४ हजार २ सय ३२ मत खसेको थियो ।

यसमध्ये २ हजार ९५६ मत बदर भई ९१ हजार २७६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । यस्तै, क्षेत्र नम्बर ४ मा पनि रास्वपाले नै सर्वाधिक मत पाएको छ । रास्वपाले यहाँ ३० हजार ४ सय १७ मत पाउंदा एमालेले १५ हजार ६७८, कांग्रेसले १४ हजार ४०, जसपा नेपालले ३ हजार ७८५ मत प्राप्त गरेको छ ।

यो क्षेत्रमा ७७ हजार ५९४ मत खसेको थियो । यसमध्ये ३ हजार ९७७ मत बदर भई ७३ हजार ६१७ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

You may also like