काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै दश वटै निर्वाचन क्षेत्र जितेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘क्लिनस्विप’ गरेको छ। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा १० मध्ये ४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो। त्यतिबेला काठमाडौं २ बाट सोविता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ बाट गणेश पराजुली र काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए। बाँकी पाँच निर्वाचन क्षेत्रमा कांग्रेस र एक निर्वाचन क्षेत्रमा एमाले विजयी भएका थिए।
काठमाडौ १
रास्वपाबाट रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत लिएर विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रवल थापाको ६ हजार ३३९ मत प्राप्त गरेका छन् ।
काठमाडौं २
काठमाडौं क्षेत्र नम्बर २ मा सुनील केसी रास्वपाबाट विजयी भएका छन् । उनी २९ हजार १४२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८२४ मत प्राप्त गरेका छन् ।
काठमाडौं ३
रास्वपाका राजुनाथ पाण्डेले विजयी भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गर्दै विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
काठमाडौं ४
प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ– ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका बमले २९ हजार १४२ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले) का राजन भट्टराईले ५ हजार ७३३, राप्रपाका सुरेन्द्रराज भण्डारीले २ हजार २५ र उज्यालो नोपल पार्टीका झनकबहादुर अधिकारीले ८१५ मत प्राप्त गरेका छन्।
काठमाडौं ५ मा
काठमाडौं ५ मा पनि रास्वपाले जित निकालेको छ । सो निर्वाचन क्षेत्रबाट रास्वपाका सस्मित पोखरेल विजयी भएका छन् । उनले ३० हजार ७३७ मत ल्याएर विजयी हुँदा कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याएका छन् । पौडेल कांग्रेसका महामन्त्री हुन् । त्यस्तै, एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत ल्याउँदा राप्रपाका कमल थापाले १९२२ मत ल्याएका छन् ।
काठमाडौं ६
काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। मतगणनाअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटुवालले २९० मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) २३१ मतमा सीमित भएका छन् ।
काठमाडौं ७
प्रतिनिधि सभाको निर्वाचिनमा काठमाडौँ-७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, रास्वपाका पराजुली २७ हजार ८०५ मत प्राप्त गरेर सांसदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत पाएका छन्।
यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वसन्तप्रसाद मानन्धरले ३ हजार ६६७, नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ३ हजार ५४४ र उज्यालो नेपाल पार्टीकी विमला लामाले १ हजार ३८३ मत प्राप्त गरेकी छन्।
काठमाडौं ८
काठमाडौंमा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत लिएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्वी सुमन सायमीले ३२ सय १७ मत मात्रै प्राप्त गरे।
काठमाडौं ९
काठमाडौं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डोलप्रसाद अर्याल (डीपी अर्याल) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
रास्वपाका उपसभापति एवम् सङ्घीय निर्वाचन सम्पादन समिति संयोजक समेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार चार सय ६० मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा(एमाले)का अजयक्रान्ति शाक्यले चार हजार पाँच सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले एक हजार चार सय ५७ र नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले एक हजार तीन सय २८ मत प्राप्त गरेका छन्।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २४ उम्मेदवार प्रतिस्पर्धामा थिए।
काठमाडौं १०
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका हिमाल कार्की छन् । उनले ८,१०० मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठ ४,८६४ मतसहित तेस्रो स्थानमा छन् ।


