निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

by समतल अनलाइन
63Shares

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायलाई तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् ।

लुम्बिनी प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरेकी हुन् । बैठकपछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले उक्त जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर, बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा प्रदेशभर निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिइएको थियो।

जिल्लास्थित सुरक्षा समितिले स्थानीय चुनौती पहिचान गरी सोहीअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्न निर्देशन दिइएको प्रमुख सचिव काप्रीले बताए । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितको एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिने जनाइएको छ।

प्रदेशका १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले तयार पारेका योजनाबारे प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको काप्रीले बताउनुभयो। बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत सहभागी थिए।

एकीकृत सुरक्षा योजनाअन्तर्गत राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित सूचनाका आधारमा रणनीति तय गर्ने विषयमा पनि छलफल भएको बताइएको छ।

प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये तराईका जिल्लामा खुला सीमाना प्रमुख चुनौतीका रूपमा रहेको विषयमा बैठकमा चर्चा भएको जनाइएको छ। पश्चिम नवलपरासीदेखि बर्दियासम्म करिब ४१४ किलोमिटर खुला सीमा रहेको छ। हिमाली जिल्ला रुकुमपूर्वमा सञ्चार पहुँच, सूचना सङ्कलन र भौगोलिक अवस्थाका चुनौतीलाई समेत ध्यानमा राखेर तयारी गरिने बताइएको छ।

प्रधानमन्त्रीको निर्देशनपछि निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न थप प्रतिबद्धताका साथ काम अघि बढाइने प्रमुख सचिव काप्रीले जानकारी दिए ।

You may also like

This will close in 0 seconds