काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ प्रति विश्वभरका क्रिकेट समर्थकले ठुलो साथ दिएका छन् । भारत र श्रीलंकामा सम्पन्न पहिलो छ खेल अत्यन्त रोमाञ्चक बनेका छन् भने रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । यससँगै डिजिटल माध्यममा पनि अभूतपूर्व संलग्नता वृद्धि भएको आईसीसीले जनाएको छ ।

प्रतियोगिताको पहिलो दुई दिनलाई सन् २०२४ को संस्करणसँग तुलना गर्दा आईसीसीका डिजिटल प्लेटफर्महरूमा ५३ प्रतिशतले वृद्धि देखिएको छ । सबै प्लेटफर्ममा गरी ६४७ मिलियन भिडियो भ्युज पुगेका छन् । आईसीसी एप प्रयोगकर्तामा ८३ प्रतिशतको वृद्धि भएको छ भने वेबसाइट प्रयोगकर्तामा १६ प्रतिशतले बढोत्तरी भएको छ।
विशेषगरी फुल मेम्बर देशबाहिरका समर्थकबाट उल्लेखनीय वृद्धि देखिएको छ । समूह ‘सी’ मा आइतबार इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिजिटल वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । नेपालबाट आईसीसी प्लेटफर्म प्रयोगकर्ता ४४२ प्रतिशतले बढेका छन्, जुन आश्चर्यजनक वृद्धि हो । त्यस्तै, यूएईबाट १९६ प्रतिशत र अमेरिकाबाट ४९ प्रतिशतले प्रयोगकर्ता बढेका छन्, जसले क्रिकेटको विश्वव्यापी विस्तारलाई संकेत गर्छ ।
मैदानतर्फ पनि उत्साहजनक उपस्थिति देखिएको छ । मुम्बईको वानखेडे रंगशालामा भारतले अमेरिकालाई पराजित गरेको खेलमा सबैभन्दा बढी २४ हजार ९९७ दर्शक उपस्थित थिए । अन्य पाँचमध्ये चार खेलमा १५ हजारभन्दा बढी दर्शक रंगशालामा पुगेका थिए । २० टोली सहभागी प्रतियोगिताको समूह चरणका खेलहरू आठ वटा रंगशालामा भइरहेका छन् । टिकट मूल्य निर्धारण रणनीति र खेल तालिका समयमै सार्वजनिक गरिएकाले दर्शक उपस्थिति उत्साहजनक बनेको आईसीसीले जनाएको छ ।
उद्घाटन सप्ताहन्तमा मात्र कुल एक लाख ७ हजार ७८१ दर्शकले प्रत्यक्ष खेल अवलोकन गरेका छन् ।
स्ट्रिमिङतर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ । आइसीसीको टिभीमा कुल भ्युज २९६ प्रतिशतले बढेका छन् भने युनिक प्रयोगकर्तामा १९२ प्रतिशत वृद्धि भएको छ । जापान, जर्मनी, दक्षिण कोरिया, फ्रान्स, मलेसिया, इटाली र नेदरल्यान्ड्स जस्ता परम्परागत क्रिकेटबाहेकका देशबाट आएको भ्युज अहिले आइसीसी टिभीको कुल भ्युजको एक चौथाइभन्दा बढी हिस्सा ओगट्न थालेको छ ।
पहिलो पटक आइसीसी टिभीमा गैर अंग्रेजी कमेन्ट्री सुरु गरिनु यस वृद्धिको प्रमुख कारण मानिएको छ । इंग्ल्यान्ड-नेपाल खेलमा नेपाली भाषाको कमेन्ट्री र भारत-अमेरिका खेलमा हिन्दी कमेन्ट्री सबैभन्दा बढी हेरिएका स्ट्रिम बनेका छन् । यसले क्रिकेटलाई अझ समावेशी र पहुँचयोग्य बनाएको आईसीसीले जनाएको छ ।



