फागुन २१ को निर्वाचन लक्षित गर्दै देशव्यापी मतदाता शिक्षा कार्यक्रम सञ्चालन

by समतल अनलाइन
71Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन आयोगले विशेष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मतदान प्रक्रिया सहज र सरल बनाउँदै बदर मतको संख्या घटाउने लक्ष्यसहित आयोगले फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो।
कार्यक्रमअन्तर्गत देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वटा वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकहरूले मतदाताको घर–घर तथा बस्तीमा पुगेर नमूना मतपत्रको प्रयोगमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउनेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि तोकिएका स्थानीय तहका सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा जिम्मेवारी दिइएको छ।
मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनुका साथै बदर मतको अनुपात घटाउन महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।

आयोगले यस कार्यक्रमलाई प्रभावकारी बनाउन सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनमा सहभागी राजनीतिक दल, उम्मेदवार तथा सञ्चार माध्यमलगायत सम्पूर्ण सरोकारवालालाई सहयोगका लागि अनुरोध गरेको छ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यसहित आयोगले मतदाता शिक्षा कार्यक्रमलाई अगाडि बढाएको जनाएको छ।

You may also like