काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले अस्ट्रेलिया, भारत र इङल्याण्ड जस्ता टिम नेपाल आएर खेल्ने आशा व्यक्त गरेका छन् ।

विहिबार हुने इटालीविरुद्धको खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले विश्वकप पछि ठुला टिम नेपाल आएर खेल्ने आशा व्यक्त गर्दै यसले समग्रमा क्रिकेटको विकास हुने बताए । उनले भने- ‘मेरो सन्देश टेस्ट टिमलाई काठमाडौँ किर्तिपुरमा न्यानो स्वागत गर्छौं र सबैले न्यायो स्वागत पाउनेछन् । मलाई आशा छ यो छिटै हुने छ ।’
उनले अगाडी भने- ‘एशियन कन्डिसनमा खेल्न सहज नै हुन्छ, त्यसैले वानखेडेको पिच हामीलाई सहज नै भएको छ । इङल्याण्डसँगको खेलले हामीलाई धेरै सिकाएको छ । अवश्य पनि खेल हार्दा दुखि छौं । हामीलाई टिमको रुपमा निकै आत्मविश्वास दिएको छ । इटालीलाई हामीले हल्का रुपमा लिदैनौं । इटालीले राम्रो क्रिकेट खेलिरहेको छ । हामीले योजना बनाएका छौं । र अब त्यसलाई कार्यान्वयन गर्ने समय हो ।’
साथै रोहितले ठुलो टिमसँग खेल्दा निर्णय लिने कुरा पनि महत्वपूर्ण हुन्छ भन्दै प्रेसर ह्यान्डल गर्ने विषय पनि उतिकै महत्वपूर्ण रहेको बताए । कप्तान रोहितले अघिल्लो विश्वकपमा दक्षिण अफ्रीकासँग एक रनले हारेको प्रसंगमा उनले त्यसपछि वेस्ट इन्डिजसँग मात्र सिरिज खेलेको र दुई बर्षमा ठुलो टिमसँग खेल्न नपाएको बताए ।’ उनले नेपालले क्रिकेट नियमित रुपमा खेलिरहेको तर बर्षमा १-२ सिरिज ठुलो टिमसँग खेल्न पाएमा आफुलाई टेस्ट गर्ने अवसर पाउने बताए । साथै उनले यो विश्वकप पछि त्यो अवसर पाउने आशा व्यक्त गरे ।
कप्तान रोहितले नेपाल प्रिमियर लिगले टी-२० क्रिकेटमा ठुलो भूमिका खेलेको बताउदै विदेशी खेलाडीसँगको अनुभवले सहयोग गरेको बताए ।



