बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै उम्मेदवार छनोट गरिएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवास सल्लाहकार डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् ।

पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन प्रक्रियाअनुसार प्रत्यक्षतर्फ २५ हजार र समानुपातिकतर्फ ५० हजार रुपैयाँ बुझाए पनि आफूलाई कुनै पनि तर्फ उम्मेदवार नबनाइएपछि कुँवरले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।
रुपन्देहीको देवदह नगरपालिका–२ निवासी कुँवर रुपन्देही–१ बाट उम्मेदवार बन्ने उद्देश्यसहित अमेरिका छाडेर नेपाल आएका थिए । सो क्षेत्रबाट कुँवरसहित ६ जनाको नाम सिफारिस गरिएको भए पनि पार्टीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सल्लाहकार सुनील लम्साललाई उम्मेदवार बनाएको उनले दाबी गरेका छन् ।
विज्ञप्तिमार्फत कुँवरले आफूलाई ठूलो अन्याय भएको बताएका छन् । “मलाई प्रत्यक्ष उम्मेदवार बनाउने भनिएपछि अमेरिका छाडेर नेपाल आएँ । सुरुमा समानुपातिकतर्फ राख्ने भन्दै ५० हजार बुझाएँ, पछि प्रत्यक्ष उम्मेदवारका लागि प्राइमरी इलेक्सन भन्दै थप २५ हजार बुझाएँ,” उनले भने, “तर प्राइमरी इलेक्सन नै नगरी उम्मेदवार छानियो ।”
उनले नजिकबाट हेर्दा पार्टीको व्यवहार र दाबी फरक देखिएको भन्दै गम्भीर अन्याय महसुस भएपछि पार्टी परित्याग गरेको बताए । “टाढाबाट हेर्दाको रास्वपा र नजिकबाट हेर्दाको रास्वपा धेरै फरक रहेछ,” उनले उल्लेख गरेका छन् ।
राष्ट्रियताप्रतिको सोच र दृष्टिकोण स्पष्ट नभएको आरोप लगाउँदै कुँवरले रास्वपाले विदेशमा रहेका नेपालीहरूको भावना माथि खेलवाड गरेको बताए । “देशका लागि केही गर्न चाहने विदेशस्थित नेपालीलाई धोका दिइयो,” उनले भने ।
कुँवरले अब रवि लामिछाने वा अन्य कुनै नेताको आग्रह आए पनि रास्वपामा पुनः नफर्किने स्पष्ट पारेका छन् ।



