बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याब परीक्षणसम्बन्धी सहकार्य सम्झौता सम्पन्न भएको छ । इक्यान रुपन्देहीसँग आबद्ध सदस्य, कर्मचारी, उनीहरूको परिवारजन तथा विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा थाइरो ल्याव बुटवलका तर्फबाट प्रबन्ध निर्देशक दिपु केसी र इक्यान रुपन्देहीका तर्फबाट अध्यक्ष गोविन्द बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार इक्यान रुपन्देहीका सदस्य तथा उनीहरूका परिवारजनले सामान्य प्रयोगशाला परीक्षणमा ३० प्रतिशत, उन्नत परीक्षणमा २५ प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणमा २० प्रतिशत र आउटसोर्स परीक्षणमा १० प्रतिशत छुट पाउनेछन् ।
यस्तै, इक्यान रुपन्देहीका कर्मचारी तथा उनीहरूका परिवारजनलाई सामान्य प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, उन्नत परीक्षणमा २० प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणमा १५ प्रतिशत र आउटसोर्स परीक्षणमा ५ प्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ ।
सम्झौतापछि बोल्दै इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले यस सहकार्यले संघका सदस्य, कर्मचारी, परिवारजन तथा विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
थाइरो ल्याव बुटवलका प्रबन्ध निर्देशक दिपु केसीले सबै आवश्यक प्रयोगशाला सेवा बुटवलमै उपलब्ध हुने भएकाले परीक्षणका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्थापनपछि ल्यावको सेवा स्तर वृद्धि गरिएको छ र ‘टच प्रोफाइल’ परीक्षण सेवा समेत सुरु गरिएको छ ।
केसीले हालसम्म यस आसपासका क्षेत्रमा टच प्रोफाइल परीक्षण उपलब्ध नभएकाले आवश्यकतालाई ध्यानमा राखी सेवा सुरु गरिएको जानकारी दिनुभयो । उक्त प्रविधिबाट दुई घण्टाभित्र परीक्षण रिपोर्ट उपलब्ध गराउन सकिने उहाँको भनाइ छ ।
नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको थाइरो ल्यावले आफ्ना सेवाहरूलाई थप विशिष्टिकृत गर्दै अघि बढिरहेको ल्याव इञ्चार्ज अमृत सापकोटाले जानकारी दिनुभयो ।



