काठमाडौं।भ्रमित सूचनालाई बन्देज गर्न टिकटकसँग निर्वाचन आयोगले सहकार्य गरेको छ । निर्वाचनमा मिथ्या सूचना रोक्न निर्वाचन आयोग र टिकटकबिच सहकार्य गर्ने समझदारी भएको हो ।
आयोगपरिसरमा बुधबार आयोजित कार्यक्रममा निर्वाचनको नैतिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले आयोगसँग समझदारीपत्र आदान–प्रदान गरेको हो ।

सहकार्यअन्तर्गत टिकटकको प्रतिनिधिमण्डलले निर्वाचन नैतिकतासम्बन्धी क्षमता अभिवृद्धि कार्यशालासमेत सञ्चालन गरेको थियो । कार्यशालामा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय र सरोकारवालाहरूबिच निर्वाचनको गरिमासम्बन्धी बुझाइ सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो ।
आयोगका पदाधिकारीहरूलाई टिकटकले आफ्नो प्लाटफर्मले निर्वाचन प्रक्रियाको संरक्षण कसरी गर्छ भन्नेबारे जानकारी गराएको थियो । यस क्रममा टिकटकका सामुदायिक निर्देशिका, भ्रामक सूचना, राजनीतिक सामग्री तथा भ्रामक व्यवहारसम्बन्धी नीतिहरूबारे प्रस्तुति दिइएको थियो । साथै प्रयोगकर्ताले विश्वसनीय सूचना पहुँच गर्न, सम्भावित उल्लंघनबारे जानकारी गराउन र निर्वाचनसम्बन्धी सामग्री प्लाटफर्ममा कसरी व्यवस्थापन गरिन्छ भन्ने बुझ्न सहयोग गर्ने टिकटकका उपकरण तथा सुविधाबारे पनि जानकारी गराइएको थियो ।
‘कुनै पनि लोकतन्त्रका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादलाई आकार दिने प्लाटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छ । यस सहकार्यमार्फत हामीले सचेत सहभागिता प्रवर्द्धन गर्ने, निर्वाचनको निष्पक्षतालाई सुदृढीकरण गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौँ,’ टिकटकको दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिर्दोस मोत्तकिनले भने ।
त्यस्तै, आयोग प्रवक्ता नारायण भट्टराईले डिजिटल प्लाटफर्मको जिम्मेवार प्रयोग र निर्वाचन नैतिक प्रवर्द्धनका लागि टिकटकसँगको सहकार्य स्वागतयोग्य भएको बताए । ‘यस्ता सहकार्यहरूले भ्रामक सूचनाबारे सचेतना अभिवृद्धि गर्न र निर्वाचन प्रक्रियामा सचेत सहभागितालाई टेवा पुर्याउँछन्,’ उनले भने ।
टिकटकले निर्वाचन नैतिकता सुदृढ गर्न र नेपाली समुदायका लागि विश्वसनीय सूचनाको वातावरण बनाउन आयोग तथा अन्य सरोकारवालासँग निरन्तर सहकार्य गर्ने भट्टराईले बताए । ‘विश्वव्यापी प्लाटफर्मका रूपमा प्रयोगकर्ताको विश्वास कायम राख्न, भ्रामक सूचनाको जोखिम कम गर्न र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न निर्वाचनको नैतिकता सुनिश्चित गर्नु अत्यावश्यक छ,’ उनले भने ।
प्रवक्ता भट्टराईले फेसबुकको माउ कम्पनी मेटासँग पनि सहकार्यका लागि सघन छलफल चलिरहेको र चाँडै समझदारीपत्रमा हस्ताक्षर गरिने पनि बताए ।



