उम्मेदवार र दलले प्रचारका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने

by समतल अनलाइन
69Shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्ने कार्यविधि जारी गरेको छ ।

आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार-प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८२’ सोमबार लागू गरेको हो । कार्यविधिअनुसार उम्मेदवार र राजनीतिक दलले निर्वाचन प्रचार-प्रसारका लागि आ-आफ्नै बेग्लै बैंक खाता खोल्नुपर्नेछ ।

प्रचार खर्चसम्बन्धी सबै आर्थिक कारोबार नेपाली मुद्रामा गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै उम्मेदवारले प्राप्त गर्ने स्वैच्छिक आर्थिक सहयोग २५ हजार रुपैयाँभन्दा बढी भए अनिवार्य रूपमा बैंक खातामार्फत नै लिनुपर्ने उल्लेख छ ।

कार्यविधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचलित कानुनबमोजिम निर्वाचन प्रचार–प्रसार खर्चको विवरण सार्वजनिक गरी सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

दल तथा उम्मेदवारले बुझाएको खर्च विवरणको प्रतिवेदन तयार भएको ३५ दिनभित्र आयोग र सम्बन्धित कार्यालयले बैंक खाता बन्द गर्न लगाउनेछ । तर बैंक खातासम्बन्धी विवरण भने सामान्यतया छ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ ।

You may also like