तिलोत्तमा नगरका १,७४९ किसानलाई दुधमा साढे ६१ लाख रुपैयाँ अनुदान

by समतल अनलाइन
64Shares

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाले यस वर्ष पनि उत्पादनमा आधारित दुध अनुदान कार्यक्रम अन्तर्गत पशुपालक किसानलाई अनुदान वितरण गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा १८ वटा दुग्ध उत्पादक सहकारीमार्फत १,७४९ किसानलाई प्रति लिटर २ रुपैयाँका दरले कुल ६१ लाख १३ हजार ५ सय ९६ रुपैयाँ अनुदान वितरण गरिएको पशु सेवा शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो।

नगरपालिकाभर उत्पादित ३० लाख ५६ हजार ७ सय ९८ लिटर दुधको अनुदान रकम सहकारीमार्फत किसानको हातमा पुग्ने व्यवस्था गरिएको छ।

नगर प्रमुख रामकृष्ण खाणले किसान प्रोत्साहनका लागि दुध अनुदान १ रुपैयाँबाट बढाएर २ रुपैयाँ बनाइएको बताउनुभयो। नगर उपप्रमुख जागेश्वर देवी चौधरीले अनुदान रकम सदुपयोग गरी पशुपालनलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले अनुदानले किसानलाई केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो। केन्द्रिय दुग्ध उत्पादक सहकारी संस्थाका सदस्य हरि काफ्लेले नगरपालिकाको कदमको प्रशंसा गर्दै आगामी दिनमा किसानमुखी थप कार्यक्रम र बजेटको माग गर्नुभयो।

You may also like