बाह्य हस्तक्षेप र गलत दिशाबाट देश जोगाउँछ एमाले : गोकर्ण विष्ट

by समतल अनलाइन
75Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २ का उम्मेदवार गोकर्ण विष्टले देशलाई बाह्य हस्तक्षेप र गलत दिशाबाट जोगाउने दायित्व अब एमालेको काँधमा आएको बताएका छन् ।

गुल्मीको मालिका, मुसिकोट र रेसुंगा नगरपालिकाबाट बुटवल आएर बसोबास गरिरहेका एमाले कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले वर्तमान अवस्थासम्म देशलाई ल्याउने शक्तिहरूलाई जनताले मतदानमार्फत जवाफ दिनुपर्ने बताए । उनले देश र संविधानको रक्षा गर्न एमालेको नेतृत्व अपरिहार्य भइसकेको उल्लेख गरे । “विगतमा भएका केही कमीकमजोरीलाई आत्मसमीक्षा गर्दै सुधार गरिएको छ,” उनले भने, “अब देशलाई सही दिशामा अघि बढाउन, संविधान जोगाउन र राष्ट्रिय स्वाधीनता कायम राख्न एमालेको नेतृत्व आवश्यक छ ।”

उपाध्यक्ष विष्टले आगामी निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टीका रूपमा स्थापित हुने दाबी गर्दै अधुरा विकास योजनाहरू पूरा गर्ने, सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने एमालेको स्पष्ट एजेन्डा रहेको बताए । आवश्यक परे संविधान संशोधन गरेर पनि सबै वर्गका जायज माग सम्बोधन गरिने उनको भनाइ थियो । पूर्वमन्त्रीसमेत रहेका विष्टले गुल्मी क्षेत्र नं. २ मा एमालेको जित कसैले रोक्न नसक्ने दाबी गरे ।

अघिल्लो निर्वाचनमा गठबन्धनलाई समेत पराजित गरिएको स्मरण गर्दै यसपटक सबै दल एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले १२ हजारभन्दा बढी मतान्तरले एमाले विजयी हुने उनले बताए । गुल्मी क्षेत्र नं. २ मा विकासको लहर एमालेकै नेतृत्वमा सुरु भएको उल्लेख गर्दै विष्टले ४१ वटै वडालाई समेट्ने गरी सडक कालोपत्रे योजनाहरू अघि बढाइएको जानकारी दिए । कार्यक्रममा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले देशलाई नटवरलाल र महाठगहरूबाट जोगाउनुपर्ने आवश्यकता औँल्याइन् । उनले नटवरलालहरू राजनीतिमा हावी भए संसद् सर्कस बन्ने चेतावनी दिँदै सचेत हुन आग्रह गरिन् । उक्त अवसरमा निर्वाचन परिचालन कमिटी गठन गरिएको थियो ।

You may also like