गुल्मीमा निर्वाचन सुरक्षाका लागि १६९५ प्रहरी खटाइयो

by समतल अनलाइन
32Shares

गुल्मी। गुल्मीमा आगामी निर्वाचनका लागि १६९५ जना निर्वाचन प्रहरी खटाइएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारुले उनीहरुलाई मातहतका इलाकामा पठाइएको जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय रिडी, पुर्कोट र जिल्ला प्रहरी कार्यालयको मातहतमा खटिने प्रहरीको क्षेत्र शनिवार तोकिएको थियो। उनीहरुलाई तोकिएको इलाकाबाट आइतबारदेखि १० दिनको तालिम प्रदान गर्न सुरु गरिएको छ।

गुल्मीमा निर्वाचन प्रहरीका लागि २२१६ जनाले आवेदन दिएका थिए, जसमा १०१९ पुरुष र ६७६ महिला रहेका छन्। तर, कोटा अनुसार ६७६ महिला भर्नुपर्नेमा ४४९ जना मात्रै आवेदन दिएका छन्।

सारुले जनाए अनुसार, निर्वाचन प्रहरी गुल्मीसँगै अर्घाखाँची, पाल्पा, कास्की, बाग्लुङ, दाङ, बर्दिया, प्युठान र सप्तरी जिल्लाबाट पनि खटाइएका छन्। यसमा पूर्व सुरक्षकर्मी र म्यादीहरुलाई पहिलो प्राथमिकता दिइएको छ। उनीहरुको उमेर १८ देखि ५४ वर्षको दायरामा रहेको छ। यसका साथै १७० जना प्रहरी वैकल्पिक सूचिमा राखिएका छन्।

गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षासमिति सक्षम रहेको बताउनुभयो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार गुल्मीमा कुल २ लाख २९ हजार ५४९ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर–१ मा १ लाख २२ हजार १८६ र क्षेत्र नम्बर–२ मा १ लाख ७ हजार ३६३ मतदाता छन्। जिल्लाभर १४५ मतदान केन्द्र र २८४ मतदान स्थल तोकिएको छ।

You may also like