निर्वाचन जिते पाल्पालाई पर्यटकीय हब बनाउँछु : सोमप्रसाद पाण्डे

by समतल अनलाइन
60Shares

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नम्बर–२ का उम्मेदवार सोमप्रसाद पाण्डेले पाल्पामा अधुरा रहेका विकास निर्माणका आयोजना पूरा गर्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।

बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पाण्डेले २०७९ सालको निर्वाचनमा आफू पराजित भएपछि पाल्पाको विकासले अपेक्षित गति लिन नसकेको दाबी गरे। स्थानीयवासीको आग्रह र चाहनाअनुसार पुनः निर्वाचनमा होमिएको उनको भनाइ छ।

पाण्डेले आफू पदमा रहँदा मात्र नभई पदमा नरहँदा पनि पाल्पाको विकासका लागि निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरे। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आफूले विशेष पहल गरेको स्मरण गर्दै उनले तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग बजेट सुनिश्चित गर्न दबाब दिएको बताए। बजेट नआए अनसन बस्ने चेतावनी दिएपछि मात्र १० अर्ब रुपैयाँ बजेट सुनिश्चित भएको उनले दाबी गरे।

निर्वाचन जितेमा पाल्पालाई पर्यटकीय हबका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्दै पाण्डेले नेपालकै सबैभन्दा ठूलो बुद्ध गार्डेन मूर्ति निर्माण गर्ने नयाँ प्रस्ताव अघि सारे। पाल्पा र बुटवलको भौगोलिक नजिकोपनलाई उपयोग गर्दै पर्यटन, पूर्वाधार र आर्थिक गतिविधिमा नयाँ आयाम ल्याउने उनको प्रतिबद्धता छ।

सोही अवसरमा पाण्डेले सर्वोच्च अदालतको प्रसंग उठाउँदै अदालत मात्र नभई नेपाली जनताको सार्वभौमसत्तामाथि नै आघात पुगेको टिप्पणी गरे।

You may also like