काँकरभिट्टा नाकाबाट पुस मसान्तसम्म ९ अर्ब ७७ करोडको पेट्रोलियम आयात

by समतल अनलाइन
36Shares

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट नौ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ।

मेची भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी कुल नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात ५१ करोड ५९ लाख ४३ हजार रुपैयाँले वृद्धि भएको जानकारी दिए। यो वृद्धि पाँच दशमलव ६० प्रतिशत हो।

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि पाँच दशमलव ७० प्रतिशतले बढेको छ। उनका अनुसार सो अवधिमा राजस्व २५ करोड ४२ लाख ४० हजार रुपैयाँले वृद्धि भएको छ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब ७४ करोड ९४ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

छ महिनाको अवधिमा चार अर्ब ७२ करोड छ लाख रुपैयाँ मूल्य बराबरको ५३ हजार १५२ किलोलिटर पेट्रोल आयात भएको छ। यस्तै, तीन अर्ब २२ करोड ६५ लाख रुपैयाँ मूल्य बराबरको ३३ हजार ७४४ किलोलिटर डिजेल आयात भएको कार्यालयले जनाएको छ।

त्यसैगरी एक अर्ब २४ करोड सात लाख रुपैयाँ मूल्य बराबरको १२ हजार ८११ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। यस अवधिमा ३७ करोड ९४ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ११२ किलोलिटर एटिएफ र नौ करोड पाँच लाख रुपैयाँ मूल्य बराबरको ९६४ किलोलिटर मट्टितेल आयात भएको तथ्याङ्कमा उल्लेख छ।

You may also like