सैनामैना मेमोरियल स्कुलमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने

by समतल अनलाइन
41Shares

रुपन्देही । सैनामैना–१ स्थित सैनामैना मेमोरियल स्कुलले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस २०८२ को अवसर पारेर जिल्लास्तरीय अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।

विद्यार्थीहरूमा रहेको अन्तर्निहित वाक् क्षमता उजागर गर्ने, तर्कपूर्ण विचार अभिव्यक्तिको विकास गर्ने तथा विद्यालयहरूबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयले जनाएको छ।

“बोल्नेको पिठो पनि बिक्छ तर नबोल्नेको चामल पनि बिक्दैन” भन्ने जीवनोपयोगी उखानलाई मूल भावका रूपमा आत्मसात् गर्दै कार्यक्रम सञ्चालन गरिने विद्यालयका प्राचार्य डि.बि खत्री ‘ प्रदिप’ ले बताउनु भएको छ।

उक्त वक्तृत्वकला प्रतियोगिता २०८२ माघ ११ गते आइतबार बिहान ११ बजेबाट विद्यालयकै सभाहलमा सम्पन्न हुनेछ। प्रतियोगिताको मुख्य शीर्षक
“बौद्धिक पलायनको लहर: रित्तिँदै गाउँ र सहर” रहेको छ, जसले पछिल्लो समय देशले भोगिरहेको गम्भीर सामाजिक तथा बौद्धिक समस्यामाथि विद्यार्थीहरूलाई गहिरो चिन्तन र विमर्श गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहने उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले करिस्मा खत्री (९८६७७९४१९०) वा विनय लम्साल (९८५७०७६१३३) मार्फत दर्ता गर्न सक्ने जनाइएको छ। कार्यक्रम संयोजक विनय लम्साल रहनु भएको कुरा मिडिया कोर्डिनेटर कमल खड्काले जानकारी दिनुभएको छ।

You may also like