बुटवलमा किया नेपालको नयाँ शोरुम सञ्चालनमा

by समतल अनलाइन
91Shares

बुटवल । किया नेपालले बुटवलको कालिका नगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर बिहीबार शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुमबाट किया ब्रान्डका नवीनतम सवारी साधनको प्रदर्शनी, व्यावसायिक बिक्री परामर्श तथा बिक्रीपछिको सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसले बुटवल तथा आसपासका क्षेत्रका ग्राहकलाई सहज सेवा प्रदान गर्ने विश्वास लिइएको छ ।

शोरुम उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य सङ्घका महासचिव मुक्ति अधिकारीले मध्यम वर्गले सहज रूपमा किन्न सक्ने गाडीहरू पनि नेपाली बजारमा भित्र्याउन किया नेपाललाई आग्रह गरे । उनले बुटवल सबै क्षेत्रको केन्द्र (हब)का रूपमा विकास हुँदै गएको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रका लागि नारायणी पश्चिम बुटवल महत्वपूर्ण केन्द्र बन्दै गएको बताए ।

त्यस्तै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिकी डाइरेक्टर रेखा घिमिरेले कियासँगको सहकार्य करिब ३० वर्षदेखि निरन्तर रहेको बताइन् । उनले ग्राहकलाई गुणस्तरीय सेवा सुलभ मूल्यमा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता रहेको उल्लेख गरिन् ।

त्यसैगरी कार्यक्रममा टङ्कप्रसाद भट्टले किया विश्वभर परिचित र विश्वासिलो अटोमोबाइल ब्रान्ड रहेको बताए । उनका अनुसार किया नेपालले देशभर आफ्नो शाखा विस्तार गर्दै सन् २०२६ भित्र इभी र पेट्रोलसहित तीन नयाँ मोडलका गाडी नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ ।

यस्तै, अनिश लामिछानेले कियाका सवारी साधनप्रति बढ्दो माग पूरा गर्न बुटवल शोरुमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसले नवप्रवर्तन, गुणस्तर र ग्राहक सन्तुष्टिप्रति किया ब्रान्डको दृष्टिकोणलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

You may also like