फागुन २१ मा निर्वाचन नभए संसद पुनर्स्थापना गर्नुपर्छ : प्रकाशमान सिंह

by समतल अनलाइन
36Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन हुन नसके संसद पुनः स्थापना गर्नुपर्ने बताएका छन्।शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उनले ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएको बताए । तर विभिन्न कारणले निर्वाचन सम्भव नभए संसद पुनर्स्थापनाको विकल्प पनि खुला राख्नुपर्नेमा उनले जोड दिए।

‘चुनाव फागुन २१ गतेको छ। आजभोलि सुरक्षा अवस्थालाई हेर्दा असुरक्षाको अनुभूति भइरहेको छ ‘ उनले भने, ‘सरकारले चुनाव स्वच्छ र निष्पक्ष गराउँछु भनेको छ । त्यो बोलेर होइन, गरेर देखाउनुपर्छ। निर्वाचन संविधानलाई सही बाटोमा ल्याउने राम्रो उपाय हो। तर कथंकदाचित निर्वाचन नभए संसद् पुनर्स्थापनालाई पनि खुला राख्नुपर्छ। अब हामी निर्वाचनका लागि तयार हुनुपर्छ।’

वर्तमान सरकारले तोकिएकै समयमा निर्वाचन गर्ने दाबी गरे पनि सुरक्षा अवस्थालाई हेर्दा त्यो सम्भव देखिँदैन भन्ने उनको भनाइ थियो। उनले पार्टीका नेता–कार्यकर्तालाई महाधिवेशनमा पनि ध्यान दिन आग्रह गरे।

‘महाधिवेशन पनि एक किसिमले फागुन २१ गतेको आम निर्वाचनजस्तै पार्टीभित्रको निर्वाचन हो,’ सिंहले भने, ‘आम निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गरेपछि प्रक्रिया अघि बढ्छ। कांग्रेसको महाधिवेशनका लागि पनि विधानअनुसार क्रियाशील सदस्य वितरणको प्रक्रिया पूरा हुनुपर्छ।’

महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा आइसकेकाले १५औँ महाधिवेशन हुनेमा शङ्का नगर्न उनले आग्रह गरे। तर विधि र प्रक्रिया नपुर्‍याई महाधिवेशन अघि बढाउन नहुने उनको भनाइ थियो।

You may also like