बुटवल ।पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु–कुहिरो लागेपछि हवाई सेवा प्रभावित भएको छ । विशेषगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा दृष्यता (भिजिबिलिटी) कमजोर हुँदा उडान प्रभावित भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी सबैभन्दा कम १ सय मिटर मात्र मापन गरिएको छ । यसका कारण भैरहवा क्षेत्रमा हवाई सेवा सबैभन्दा बढी प्रभावित भएको छ ।

यस्तै, कैलालीको धनगढी र धनुषाको जनकपुरमा भिजिबिलिटी ५ सय मिटर रहेको छ । मोरङको विराटनगरमा १ हजार मिटर, बाँकेको नेपालगञ्जमा १ हजार २ सय मिटर तथा काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् महर्जनका अनुसार दिउँसोतिर हुस्सु–कुहिरो क्रमशः घट्दै जाने अनुमान छ ।
मौसमविद्हरूका अनुसार दृष्यता १ किलोमिटरभन्दा बढी भएमा हुस्सु र १ किलोमिटरभन्दा कम भएमा कुहिरो मानिन्छ । कुहिरो हुस्सुभन्दा बाक्लो हुने भएकाले यसले घामका किरण छेक्छ र जमिन तात्न ढिलो हुँदा जाडो बढी महसुस हुने गर्दछ ।
आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन । धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १ हजार ५ सय मिटर मात्र रहेको थियो । सोमबार बेलुकादेखि नै धनगढी क्षेत्रमा हुस्सु लागेपछि हवाई यात्रा प्रभावित भएको थियो ।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसमविद्हरूले बताएका छन् । तर आज राति र भोलि पश्चिम नेपालका केही स्थानमा हल्का बादल लाग्न सक्ने सम्भावना रहेको छ । यद्यपि वर्षा हुने सम्भावना भने नरहेको मौसमविद् महर्जनले जानकारी दिइन् ।


