बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा, पुस ३ देखि १७ गतेसम्म महोत्सव

by समतल अनलाइन
35Shares

बुटवल । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा बुटवलमा आयोजना हुने “१६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२” को सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सव पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार स्टल निर्माणलगायतका सबै काम अन्तिम चरणमा पुगेका छन्। “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” नाराका साथ आयोजना हुन लागेको महोत्सवको पूर्वसन्ध्यामा भोलि जनचेतनामूलक ¥याली निकालिनेछ। पुस ३ गते दिउँसो २ बजेर १६ मिनेटमा उद्घाटन कार्यक्रम तय गरिएको छ।

अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने यस प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, कृषि तथा पर्यटनसँग सम्बन्धित सामग्रीका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन्। हालै निर्माण सम्पन्न भएको आधुनिक प्रदर्शनी केन्द्रमा आधुनिकस्तरका स्टल रहने र सजावटदेखि व्यवस्थापनसम्म यसअघिका प्रदर्शनीभन्दा फरक र आकर्षक हुने आयोजकले जनाएको छ।

महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुली ले स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन गरी तिनको बजारीकरण गर्नु तथा उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावना विकास गर्नु नै प्रदर्शनीको मुख्य उद्देश्य रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ। यस प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझै जोड्ने, नयाँ उद्योग स्थापना गर्न प्रेरणा दिने र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिएका छौँ।”

आयोजकका अनुसार देशको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको औद्योगिक व्यवसायको संरक्षण, संवर्द्धन र विकासमा यस महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेछ। प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनीसँगै नयाँ प्रविधिको खोजी, कृषिको प्रविधिकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमी प्रोत्साहन, स्टार्टअप तथा स्वरोजगार सिर्जना, कला–संस्कृतिको जगेर्ना, गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रमहरू समेत सञ्चालन गरिनेछन्।

प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला तथा जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन्। करिब ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

महोत्सवलाई थप आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, ख्यातिप्राप्त आधुनिक गायक–गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरूको प्रस्तुति, सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तर–कलेज वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता, प्रदर्शनी आइडल, हिपहप, मम्मी डान्सलगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।

प्रदर्शनी सफल बनाउन रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा ६५ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति तथा ३० वटा विभिन्न उपसमितिहरू गठन गरिएको आयोजकले जनाएको छ।

You may also like