अन्तर्राष्ट्रिय कराँतेतर्फ पदक जित्ने विद्यार्थीलाई ब्रिटिश ग्रामर स्कुलमा सम्मान

by समतल अनलाइन
127Shares

बुटवल । अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जितेर विद्यालयको नाम उज्यालो पार्ने विद्यार्थीलाई ब्रिटिश ग्रामर स्कुल रुपन्देहीले सोमबार एक विशेष समारोहमार्फत सम्मान गरेको छ।

लुम्बिनी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री सन्तोष पाण्डेकाे प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममार्फत विद्यालयले १२ जना विद्यार्थीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुवँरले जानकारी दिनुभयो।

श्रीलंकामा २०२५ नोभेम्बर १६ मा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा कुमुतेतर्फ स्वर्ण तथा कातातर्फ कास्य पदक जित्ने आविष्कार श्रेष्ठ, कुमुतेमा स्वर्ण हासिल गर्ने रियाना खनाल, आयुष रेग्मी, सुसान्त खड्का, कुमुतेमा रजत विजेता हार्षित इरानी, तथा कास्य पदक विजेता जीवक भट्टराई र कुबेर चौधरी सम्मानित भए।

त्यस्तै, भारतमा जनवरी २५–२६ मा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्ने खेलाडीमध्ये कुमुतेमा स्वर्ण र कातामा कास्य जित्ने आविष्कार श्रेष्ठ, कुमुतेतर्फ स्वर्ण पाउने एरोन शेरचन, कुमुतेमा रजत तथा कातामा कास्य जित्ने आइलेसजंग थापा, कुमुतेतर्फ रजत जित्ने रजत सान्भी राज्यलक्ष्मी चन्द्र, तथा कुमुतेमा कास्य पदक पाउने वेद जैसवाललाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले ब्रिटिश ग्रामर स्कुलका विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गरेको भन्दै प्रसंसा गर्दै नेपालमा खेलकुद र पर्यटनसँगै ठूलो सम्भावना रहेको बताए।

जापान गोजुरियो कराँते डो मिसन संघका प्रमुख सल्लाहकार भरत केसीले विद्यार्थीको उत्साह, मेहनत र सफलतालाई ‘साँचिकै सम्मानयोग्य’ भन्दै प्रशंसा गरे ।

ब्रिटिश एजुकेशन ग्रुपका निर्देशक महेन्द्रराज कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्राचार्य राजेन्द्र कुवँरले स्वागत गर्नुभएको थियो भने ब्रिटिश ग्रामर स्कुलका क्याम्ब्रिज हेड लिलामणी पाण्डेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

You may also like

This will close in 0 seconds