सरकारको प्राथमिकतामा भ्रष्टाचार नियन्त्रण र निर्वाचन : प्रधानमन्त्री कार्की

by समतल अनलाइन
91Shares

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घटनाको छानबिनलाई सरकारले प्राथमिकतासाथ अघि बढाइरहेको बताएकी छन् ।

आइतबार सिंहदरबारमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दै उनले भदौ २३ र २४ गते आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन कार्य सरकार सक्रिय रूपमा गरिरहेको जानकारी दिइन् ।

भेटमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपछि बनेको परिस्थितिले आफूलाई सरकारको जिम्मेवारी सम्हाल्नुपर्ने स्थिति बनेको उल्लेख गरिन् । पूर्वराष्ट्रपति भण्डारीले पनि ती घटनाका दोषी पहिचान गरी कारबाहीको दायरामा ल्याउने सरकारको क्षमतामाथि विश्वास व्यक्त गरिन्।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको निजी निवासमा आगजनी गरेको घटनाप्रति प्रधानमन्त्री कार्कीले दुःख व्यक्त गरिन्।

उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई समान प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्। भेटका क्रममा दुवैबीच समसामयिक राजनीतिक विषयमा केहीबेर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीलाई निर्वाचनको वातावरण निर्माणमा आफ्नो तर्फबाट भूमिका खेलिदिन आग्रह पनि गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले कार्की नेतृत्वको सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास व्यक्त गरिन्।

You may also like

This will close in 0 seconds