क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

by समतल अनलाइन
97Shares

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी भएको छ ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको हो।
साथै तत्कालीन निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटी माग्ने आदेश भएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

हेलिपोर्ट निर्माणमा साढे १३ करोड भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध हेलिपोर्ट निर्माण गर्दा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँबराबरको सार्वजनिक सम्पत्ति हानि-नोक्सानी गरी भ्रष्टाचार गरेको कसुर रहेको थियो ।

अख्तियारले अधिकारीसहित ६ जना र परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी कायम गरेर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

साढे १७ करोड लागत अनुमानमा तयार गरिएको हेलिपोर्ट हालसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। यद्यपि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोमिटर पूर्वमा रहेको हेलिपोर्ट ७ असार ०८१ देखि व्यावसायिक सञ्चालनका लागि खोलिएको थियो ।

You may also like

This will close in 0 seconds