रवि, कुलमान, बालेन र हर्क साम्पाङलाई मिलाउने प्रयासमा जेनजी अगुवा

by समतल अनलाइन
60Shares

काठमाडौँ । आसन्न निर्वाचनका लागि केही राजनीतिक दल र फरक फरक समूहमा रहेका जेनजी अभियानकर्मीहरूलाई मिलाएर एउटा वैकल्पिक राजनीतिक शक्ति बनाउने प्रयास भइरहेको यसमा संलग्न केही व्यक्तिले बताएका छन् ।

बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार पुगेका जेनजी अगुवा सुधन गुरुङले आफूले त्यस विषयमा लामिछानेसँग कुरा भएको बताए ।

उनका अनुसार लामिछाने नेतृत्वको रास्वपा, ऊर्जामन्त्री कुलमान घिसिङ प्रत्यक्ष नदेखिए पनि उनकै अगुवाइमा बनेको भनिएको उज्यालो नेपाल पार्टी र धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको श्रम संस्कृति पार्टीलाई एकजुट भएर चुनावमा जान जेनजी युवाहरूले सुझाव दिँदै आएका छन्।

यही समूहमा कुनै पनि दलमा नखुलेका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’, रास्वपाबाट बाहिरिएकी भूतपूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, गत निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सागर ढकाल र हालै हाम्रो पार्टी नेपाल नामक दल दर्ता गरेका दलित अभियानकर्मी खगेन्द्र सुनारलाई पनि समेट्ने प्रयास भइरहेको वार्तामा संलग्नहरूले बताएका छन्।

वैकल्पिक राजनीतिको अभ्यास गरिरहेका र राजनीतिमा कम विवादित शक्ति र व्यक्तिलाई एकै ठाउँमा ल्याएर जेनजी आन्दोलनमा संलग्न नवयुवाहरूका लागि पनि स्वीकार्य हुने वैकल्पिक शक्ति निर्माणको अभ्यास भइरहेको रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूले पुष्टि गरेका छन्।

‘वैकल्पिक शक्तिहरूका बीचमा संवाद निरन्तर भइरहेको नै छ। सबैभन्दा एक ठाउँमा भएर जानुपर्छ भन्ने कतिपय विषयमा हामी नजिक पनि छौँ,’ रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी भन्छन्।

रास्वपा विघटित प्रतिनिधिसभामा चौथो ठूलो दल थियो । पहिलो पटक भाग लिएको निर्वाचनबाटै उदाएको उक्त दलले विवेकशील साझा पार्टीसँग एकता गरिसकेको छ ।

वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने छलफल चलिरहँदा कुलमान घिसिङले समर्थन गरेको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङ नेतृत्वमा श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए।

उज्यालो नेपाल पार्टीका नेता डा अभिषेकराज सिंह पनि वैकल्पिक शक्तिहरू एक ठाउँमा बनाउने प्रयास जारी नै रहेको बताउँछन्।

‘केही प्राविधिक कुरालाई कसरी मिलाउने भन्नेबारे फरक-फरक अवधारणामा छलफल भइरहेको छ। यो टुङ्गोमा पुर्‍याउने गरी हामी मिलाउँछौँ र मिल्छ नै।’ सिंहले भने ।

अहिले कुनै पनि दलमा आबद्ध नरहेकी सुमना श्रेष्ठले निकासका लागि सबै शक्तिले सोच्दा मुद्दामा कुनै पनि शक्तिबीच भिन्नता नरहेको बताइन् ।

‘अधिकांश मुद्दामा सबै जना एक ठाउँमा छन्। अबको हुनुपर्ने राजनीति पनि मुद्दामा आधारित राजनीति नै हो,’ उनी भन्छिन्।

जेनजी अगुवा गुरुङका अनुसार युवाहरूले रुचाएको भनिएका बालेन, यसअघि नै राजनीतिक दल खोलिसकेका लामिछाने, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदा लोडसेडिङ अन्त्यको जस पाएका कुलमान घिसिङ सहितका व्यक्तिहरूलाई मिलाएर वैकल्पिक शक्ति बनाउने प्रयास भइरहेको छ।

उज्यालो नेपालका सिंहले पनि घिसिङ, बालेन, रास्वपा र साम्पाङको एउटै समूह बनाएर वैकल्पिक शक्ति एक ठाउँमा आउने गरी कुरा भएको बताए।

बिहीवार लामिछानेलाई भेटेका हामी नेपालका गुरुङले त्यसअघि बालेन र घिसिङसँग पनि भेट गरेको बताइन्छ। हालै घिसिङ र बालेनबीच भेट भएको तस्बिर पनि सार्वजनिक भएको थियो।

उनले संविधान संशोधन नभएसम्म जेनजी आन्दोलनमा अगुवाइ गरेका नवयुवाहरू आफैँ दल खोजेर चुनावमा आउने आफूले नदेखेको बताए।

‘हाम्रो माग पूरा गर्नलाई संविधान संशोधन गर्नुपर्ने छ, जुन अहिलेको सरकारले सक्दैन भनेर अहिले आएर गृहमन्त्रीले भन्नुभएको छ,’ गुरुङ भन्छन्।

‘सबै संरचना बनाएर चुनावमा लडेर जितेर दुई तिहाइ ल्याएर आफ्नो माग पूरा गर्नुपर्ने। यो त तीन महिनामा संशोधन छैन। त्यही भएर एउटा वैकल्पिक शक्ति चाहिन्छ।’

उनका अनुसार परिवर्तन खोजेका नवयुवाहरूले भोट दिने राम्रो विकल्पका रूपमा वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिएको हो।

रास्वपाका महामन्त्री बुर्लाकोटीका अनुसार एउटै दल बनाउन र आगामी निर्वाचनमा तालमेल गरेर जान अझै केही विषयमा चुनौती देखिएका छन्।

‘अहिलेको सबैभन्दा ठूलो चुनौती भनेको कुनै पनि समूह पक्षलाई कति टिकट दिइन्छ वा कुनकुन पद हुन्छ यो हिसाबको कुरा अलि बढी हुँदो रहेछ,’ उनले भने।

विवेकशील साझासँग बिना सर्त एकता भए पनि अरू शक्तिसँग त्यही अवधारणामा छलफल अघि बढ्न नसकेको उनले बताए।

‘वस्तुपरक हुने हो भने एकता नै सम्भव छ। एकता नै भएर जान आवश्यक पनि छ। वस्तुपरक हुन सकिएन भने चाहिँ तालमेलमा जान सक्छ,’ उनी भन्छन्।

उज्यालो नेपालका केन्द्रीय सदस्य सिंहका अनुसार पार्टीहरूका विधान र केन्द्रीय समितिको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको विषयमा सहमति हुन बाँकी छ।

‘दुई, तीन, चार शक्ति मिल्दा अन्तरघुलन पनि हुनुपर्‍यो, विचारदेखि सबै कुरा मिल्नुपर्‍यो। त्यसका लागि माथिल्लो चरणसम्म कुरा भइरहेको छ,’ उनले भने ‘कतिपय कुरा पूर्ण रूपमा नमिली बाहिर भन्दा अप्ठ्यारो हुन्छ भनेर बाहिर भनिएको छैन। तर प्रगति राम्रै भएको छ।’

यसअघि रास्वपाको सहमहामन्त्री रहेकी सुमना श्रेष्ठ सामूहिक नेतृत्वमा कसरी जाने भन्नेबारे मिल्न बाँकी रहेको बताउँछिन्।

‘देशको परिस्थितिलाई मनन गरेर सामूहिक नेतृत्व गर्नुपर्ने छ। सबैले हाम्रो सामर्थ्य मात्रै नहेरी आफूले गर्न सक्ने योगदान के हुन सक्छ, त्यो पनि सोचेर काम गर्नुपर्ने छ,’ उनी भन्छिन्, ‘सबै कुरा अन्तिममा गर्ने हाम्रो बानी पनि एउटा कारण होला।’

सुधन गुरुङ ससाना समूहमा रहेका जेनजी अभियानकर्मीहरू अलग भए पनि अधिकांश जेनजी समूह एक ठाउँमा आउने बत्ताउँछन् । बिबिसी

You may also like

This will close in 0 seconds