जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले सुरू गरेको आन्दोलन देशभर फैलँदैछ।
काठमाडौंबाट सुरू भएको आन्दोलन सोमबार नै सातै प्रदेशका मुख्य सहरमा फैलिएको थियो। आज बिहानदेखि जिल्ला-जिल्लामा प्रदर्शन हुन थालेको छ।
सोमबार काठमाडौं र इटहरीमा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।
यहाँ हामी आज कहाँ के भइरहेको छ भन्नेबारे चर्चा गर्नेछौं;
देउवा निवासमा आगजनी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान साढे ११ बजेदेखि आगजनी भएको छ। परराष्ट्र मन्त्रीसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा पनि मन्त्री निवासमा नबसी सोही घरमा बस्दै आएकी थिइन्। प्रदर्शनकारीहरूले देउवा निवासअगाडि प्रदर्शन र आगजनी गरेको प्रहरीले जनाएको छ।
देउवाको धनगढीस्थति घरमा पनि आगजनी भएको छ।
ऊर्जामन्त्री निवासमा पनि आगजनी
ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको छ। मंगलबार प्रदर्शनकारीहरूले ऊर्जा मन्त्री खड्काको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ।
सञ्चार मन्त्रीको घरमा आगजनी र तोडफोड
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी र तोडफोड भएको छ। ललितपुरको ढोलाहिटीस्थित गुरूङको घरमा मंगलबार बिहान आगजनी र तोडफोड भएको हो।
प्रचण्ड निवासमा तोडफोड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पनि तोडफोड भएको छ। खुमलटारस्थित प्रचण्ड निवासमा मंगलबार बिहान तोडफोड भएको प्रहरीको भनाइ छ।
रमेश लेखकको घरमा आगजनी
निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ। लेखकको नैकापस्थित घरमा मंगलबार मध्याह्न प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए भने घरभित्र रहेका सामान निकालेर जलाएका थिए। सो क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।
एमाले सचिव रघुवीर महासेठको घरमा तोडफोड
एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित निवासमा मंगलबार प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्।
आरजु देउवा अध्यक्ष रहेको युलेन्समा आगजनी
आरजु देउवा अध्यक्ष रहेको ललितपुरस्थित युलेन्स स्कुलमा पनि आगगनी भएको छ। मंगलबार बिहान आगजनी भएको खबर आएपछि प्रहरीले दमकल पठाइएको बताएको छ।
कांग्रेस कार्यालयअघि प्रदर्शनकारीको नाराबाजी
कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयअगाडि पनि प्रदर्शन भएको छ। मंगलबार मध्याह्न प्रदर्शनकारीहरूले कार्यालयअघि प्रदर्शन गरेका हुन्। पार्टी कार्यालयमा रहेको मोटरसाइकलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
सुदूरपश्चिम मुख्यमन्त्रीको गाडी तोडफोड
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा प्रदर्शनकारीहरूले मंगलबार आगजनी गरेका छन्। उनी कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए।
कीर्तिपुर नगरपालिका कार्यालयमा आगजनी
काठमाडौंको कीर्तिपुर नगरपालिका कार्यालयमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
एमाले कार्यालयमा आगजनी
एमाले झापाको बिर्तामोडस्थित एमालेको पार्टी कार्यालयमा तोडफोड भएको छ।
पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड
पत्रकार टीकाराम यात्रीको गाडी मंगलबार प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। बा ७ च १९८० नम्बरको गाडी तोडफोड भएको हो। खुमलटार जाँदै गरेको गाडी तोडफोड भएको थियो।
मन्त्रीहरूले राजीनामा दिँदै
मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन्। कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् भने खानेपानी मन्त्री प्रदीप यादवले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेसका मन्त्रीहरूले सामूहिक छलफल गरेका छन् भने राजीनामा दिने तयारी गरेको एक मन्त्रीले बताए।
कहाँ-कहाँ कर्फ्यू?
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, विराटनगर, पर्सा, रूपन्देहीलगायत जिल्लाका कतिपय ठाउँहरू तोकेर कर्फ्यू जारी भएको छ।