बुटवल । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सिडिएम नेपाल)को आयोजनामा रुपन्देहीका पत्रकारलाई विपद् तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। विहीबार तिलोत्तमामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका पत्रकारहरूलाई प्रकोप र विपद् व्यवस्थापनसम्बन्धी विविध पक्षमा जानकारी दिइयो।
कार्यक्रममा प्रकोप, विपद्, जोखिम न्यूनीकरण, तीनै तहका सरकारको भूमिका, नीति तथा कानुनी व्यवस्था, राहत तथा पुनःस्थापना प्रक्रिया, विपद्को पूर्वतयारी लगायतका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।
सिडिएम नेपालका उपाध्यक्ष जगन्नाथ कुर्मीले नेपाल प्राकृतिक प्रकोपको उच्च सम्भावना भएको मुलुक भएको भन्दै त्यसबाट उत्पन्न हुने विपद्को जोखिम न्यूनीकरणका लागि सूचनाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले प्रभावकारी सूचना सम्प्रेषणका लागि पत्रकारहरूको सक्रिय भूमिका आवश्यक भएकाले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले विपद् व्यवस्थापनमा प्रदेश सरकारका प्रयास, नीति, कानुन तथा चुनौतीबारे प्रस्तुति राखे। उनले विपद् व्यवस्थापनलाई समन्वयकारी ढंगले अगाडि बढाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विजय सिंह ठकुरीले चालु मनसुन अवधिमा लुम्बिनी प्रदेशमा सम्भावित जोखिमबारे जानकारी गराए। उनका अनुसार, यो वर्षको मनसुनमा १ लाख १९ हजार ८३० घरधुरी तथा ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने प्रक्षेपण गरिएको छ।
सिडिएम नेपालका प्रतिनिधि रुपक ज्ञवाली र पत्रकार भवानीप्रसाद पाण्डेयले विपद्सम्बन्धी सूचना, स्रोत तथा तथ्यांकको महत्वबारे प्रकाश पारे।
सिडिएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेका अनुसार अर्वान डि आर आर परियोजना लुम्बिनी प्रदेश सरकारसंगको समन्वयमा सञ्चालन गरिएको छ भने सुपर २ नेपालगञ्ज उपमहानगरपालिका र समुदाय उत्थानशिल परियोजना रुपन्देही जिल्लाका देवदह नगरपालिका सहित मर्चवारी, सम्मरीमाई, सुद्धोदन र सियारी गाउँपालिकामा सञ्चालन गरिएको छ ।
सिडिएम नेपालले विपद्सम्बन्धी जनचेतना, सूचना व्यवस्थापन र स्थानीय तहमा जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।