काठमाडौँ । पोखरामा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको दाबीसहित नयाँ अडियो क्लिप सार्वजनिक भएको छ । पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन लागि परेका व्यक्तिहरूको समूहसँग घुस डिल गरेको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार मात्रै राजीनामा दिएका थिए ।
सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम समेत उच्चारण गरिएको सुनिन्छ ।


अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको सुनिन्छ भने सामान्य प्रशासन मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी गरिएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भइसकेको सुन्न सकिन्छ ।
अघिल्लो अडियोमा पनि मन्त्री अधिकारीको नाम गुप्ता र बिचौलियाले लिएको सुनिएकोमा मन्त्री अधिकारीले प्रतिनिधि सभा बैठकमा त्यसको प्रतिवाद गरेका थिए । उनले जुन औँलामा विष लागेको हो त्यही झर्ने दाबी गर्दै सो घटनामा आफ्नो संलग्नता नभएको जिकिर गरेका थिए । पछिल्लो अडियोमा पनि गुप्तासँगको अडियोमा जस्तै खेम पुन, दीपा लगायतको नाम पनि लिइएको सुन्न सकिन्छ । अडियोमा मंगलबार राजीनामा दिएका सामान्य प्रशासन मन्त्री गुप्तासँगको अडियो संवाद समेत छ ।
सो अडियोमा जग्गा व्यक्तिको नाममा गर्न सक्रिय समूहका सदस्यले मन्त्री अधिकारीसँगको भेटको प्रसङ्गबारे गुप्तालाई बताउँदै ‘सामान्यले फालेपछि म काम गर्छु’ भनेको बताएका छन् । तत्कालीन सचिव पोखरेल पोखराको नयाँबजारको होटलमा बस्दा दुई वटा वन कुखुरा, १० हजारको सामान, दुई बोतल ह्स्की र पाँच लाख रुपैँयाँ दिएको अडियोमा दाबी गरिएको छ ।