कीर्तिपुर मैदानको ठेकेदारलाई दैनिक दुई लाख हर्जना

by समतल अनलाइन
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक हर्जना लगाइएको छ । तोकिएको मितिमा काम पुरा नभएपछि ठेकेदार कम्पनीलाई यसअघिको सम्झौताअनुसार हर्जना लगाइएको हो । यसअघि पहिलो पटक वैशाख २४ र दोस्रो पटक असार मसान्तमा काम सकिने बताइए पनि अझै काम सकिएको छैन ।

सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जना तिर्नु पर्नेछ । जुन करिब दैनिक २ लाख बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालका प्रमुख चक्रवर्ति कण्ठले अआर ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइसकिएको बताए । ‘असार ३० गते नै निर्माण कम्पनीहरुलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना) बारे जानकारी गराइसकेका छौं । मंगलबार देखि उहाँहरु दैनिक हर्जना तिरेर काम गरिरहनु भएको छ । अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ,’ उनले भने ।

यसरी हर्जना तिरेर बढीमा २ सय दिनसम्म अर्थात आयोजनको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए । सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ । निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको छ । चार हजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ । प्यारापिटतर्फ वित्तिय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तिय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

You may also like

This will close in 0 seconds