अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा पहिरोले पुरिएर एक दम्पतीको ज्यान गएको छ। घाँस काट्न र चिउरी टिप्न गएका बेला मंगलबार बिहान उनीहरुको पहिरोमा परी मृत्यु भएको हो।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौर तल्लोपाकुका ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।


उनीहरू मंगलबार बिहान करिब ९ बजेतिर तुसारेपानीस्थित आफ्नै खर्यानमा गएका थिए। तर, लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा खोजतलास गर्दा उनीहरू सुक्खा पहिरोले पुरिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीका अनुसार, ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
मृतक दम्पतीको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।