काठमाडौं । रसुवामा बाढीबाट प्रभावितहरुको उद्धारका लागि खटिएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा अवतरण गरेको छ । चिनियाँ अधिकारीहरुले विना अनुमति हेलिकोप्टर आएको भन्दै अवरोध गरेको जिल्ला प्रशासन कार्यालय, रसुवाका एक अधिकारीले बताएका छन् ।
यसबारे गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिइएको बताइएको छ । तर, सैनिक प्रवक्ता राजाराम बस्नेतले भने चिनियाँ भूमिमा फसेका नेपाली नागरिकहरुको उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गएको बताएका छन्। ‘उद्धारका लागि जाने क्रममा मेकानिकल फल्ट भएर त्यहाँ अवतरण गरेको हो’ बस्नेतले भने, ‘मर्मतपछि फर्किन्छ ।’ ‘पारिपटि मान्छे छन् भन्ने हिसावले उद्धारका लागि गएको थियो । टेक्निकल फल्ट भएर त्यहाँ बसेको छ । मेन्टिनेन्सपछि फर्किन्छ’, प्रवक्ता बस्नेतले भने ।


आफूलाई चिनियाँ सुरक्षाफौजले ल्यान्ड गराएका कारण रोकिएको भन्ने जानकारी नआएको दाबी गरे । तर जिल्लास्थित सुरक्षा अधिकारीले भने यस बारेमा सम्बन्धित मन्त्रालयमा रिपोर्ट गरिसकेका छन् । अहिले उच्च तहमा कुराकानी गरेर हेलिकप्टर फर्काउन पहल भइरहेको छ । मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता छन् । नुवाकोटको त्रिशूली किनारमा २ जनाको शव भेटिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ५५ जनाको उद्धार गरेका छन् । बिहानैदेखि नेपाली सेनाको दुईवटा हेलिकोप्टर खोज तथा उद्धारमा परिचालित थियो । नेपाली सेनाको हेलिकोप्टरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल लगायत समेत रसुवागढी पुगेका थिए ।