बुटवल । गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३७ युनिट रगत संकलन गरिएको समाजले जनाएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बिरामीहरूलाई समयमै रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान गरिएको थियो।
अध्यक्ष भण्डारीले भन्नुभयो, “हामीले यो रक्तदान कार्यक्रम बिरामीलाई ज्यान बचाउन सकियोस् भन्ने मानवीय भावनाले गरेका हौं। एक पाइलो सहयोगले पनि कसैको जीवन बच्न सक्छ भन्ने सोचका साथ हामी अघि बढेका छौं।”
कार्यक्रममा समाजका कोषाध्यक्ष सरोज ज्ञवाली, सह–सचिव शकुन्तला ज्ञवाली, कार्यसमिति सदस्यहरू राजु ज्ञवाली, सालिकराम ज्ञवाली, सुरज पाण्डेय, केशवराज ज्ञवाली लगायतको सक्रिय सहभागिता रहेको थियो।
त्यस्तै, आजीवन सदस्यहरू बिक्रम भण्डारी, प्रकाश भण्डारी, मञ्जु भण्डारी, भगवती पौडेल, नवीन ज्ञवाली, मोहनमणि ज्ञवाली, रमेश ज्ञवाली, चिनालाल ज्ञवाली, बिमल ज्ञवाली, कृष्ण खत्री, मुना खत्रीलगायत ३७ जनाले रक्तदान गरेका थिए।
उक्त कार्यक्रम रुपन्देही व्यापार संघसँगको सहकार्यमा सम्पन्न भएको हो। व्यापार संघले स्थापना गरेको नयाँ रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को उपकरण हस्तान्तरण तथा समुद्घाटन समारोहकै अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।